४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यार्दीखोला पुल निर्माणसँगै यातायात सेवा पुनः सञ्चालन



लमजुङ । बेँसीशहर–चामे सडक खण्डस्थित लमजुङ–मनाङको सिमानामा रहेको म्यार्दी बेलिब्रिज निर्माणसँगै यातयात सेवा सुचारु भएको छ । निर्माण सम्पन्न गरेको एक वर्ष नपुग्दै गत असार ८ गते शनिबार म्यार्दी खोलामा आएको बाढीले सो स्थानमा रहेको पुल बगाएपछि अवरुद्ध भएको यातायात पुल पुनःनिर्माण गरेसँगै यातायात सुचारु भएको हो ।

पुल निर्माणसँगै बुधबार साँझबाट सडक यातायात सुचारु गरे पनि आजबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ । तीन महीनाबाट अवरुद्ध सडक करीब एक महीनामा पुनःनिर्माण कार्य सम्पन्न गरी यातायात सुचारु भएको हो ।

सडक डिभिजनसँग सम्झौता गरेर पुलको ठेक्का लिएको ग्याल्बा–द क्याराभान जेभीले २०७५ भदौ महीनामा पुल निर्माण सम्पन्न गरी यातायात सुचारु हुँदै आएको थियो । निर्माण कार्य सम्पन्न भएको एक वर्ष बित्न नपाएउँदै पुल भत्किएपछि उक्त कम्पनीले नै सो स्थानमा पुनः पुल निर्माण गरेको हो ।

लम्बाइ २४ दशमलव ३८ मिटर र चौडाइ ११ मिटर रहेको ‘सिङ्गल लेन’ पुल एक करोड ७५ लाखमा निर्माण भएको थियो । लमजुङतर्फको पिलर एभुजमेड, एप्रोज स्याबलगायत गरी सो आकारमा बेलिब्रिज निर्माण भएको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनीयर सुमन अधिकारीले बताए ।

पुल निर्माण नहुँदा म्यार्दीखोलामा पानी परेको बेला खोलामा पानीको बहाव बढ्दा सवारीसाधनदेखि यात्रुलाई समेत निकै समस्या हुँदै आएको थियो । दुई जिल्ला जोड्ने मोटरेबल पुल सम्पन्न भएपछि यातायात सञ्चालनमा सहज भएको छ । म्यार्दीखोलामा पुल नबन्दा अस्थायी काठेपुल निर्माण गरी जोखिम मोलेर यात्रु वारपार गर्न बाध्य हुँदै आएको थियो ।

पुलको निर्माण कार्य सम्पन्न नहुँदा सवारीसाधन म्यार्दी खोलाबाटै गुड्दै आए पनि वर्षा हुँदा रोकिनुपर्ने, समयमा नपुग्ने जोखिम बढे पनि यतिबेला पुल निर्माणले भने सवारी चालकदेखि यात्रुलाई खुशी थपिएको छ । नेपालीको महान् पर्व दशैँ, तिहार मुखमै आउन लागेकाले आवश्यक सामग्रीसमेत ढुवानी गर्नका लागि पुलले समस्या बनाउँदै आए पनि यतिबेला स्थानीयलाई सहज भएको छ ।

बेँसीशहरबाट म्यार्दीखोलासम्मको दूरी ३५ किलोमिटर रहेको छ भने बेँसीशहर–चामे ६५ किलोमिटरको दूरी रहेको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार ००:००