२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङ जाने पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै बागलुङ



खेमराज गौतम

गलकोट । मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो ।

विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेका छन् । जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोटमा नयाँ संरचना निर्माण गरेसँगै मुक्तिनाथ पुग्ने तीर्थालु र पर्यटक जिल्ला भित्रिन थालेका हुन् ।

बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधन बाक्लै देखिन थालेको छ । मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आएको नारायणगढका पर्यटक प्रयास योगीले बताए । सामाजिक सञ्जालमा पञ्चकोटको तस्वीर देखेपछि आकर्षित भएर बागलुङ आएको योगीको भनाइ छ ।

विगतका वर्षहरुमा सिधैँ जाने प्रचलन रहेकोमा पछिल्लो समय मुस्ताङ पुग्ने पर्यटकको बागलुङ पनि आकर्षक गन्तव्यको रुपमा रोजाइमा पर्न थालेको बागलुङ पर्यटन विकासका समितिका उपाध्यक्ष राज थापाले बताए । बागलुङ जिल्लामा पर्यटन विकास समिति र सम्बद्ध निकायको सक्रियता, होटलको स्तरीकरण र प्रचार–प्रसारका कारण मुस्ताङ पुग्ने पर्यटक बागलुङ आउन थालेको थापाको भनाइ छ ।

मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका तथा पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको पञ्चकोट व्यवस्थापन समितिले जनाएको छ । नेपालका विभिन्न स्थान, भारत तथा अन्य देशबाट घुम्नका लागि आउने पर्यटकसमेत बागलुङ नपसेर सिधैँ जाने गर्दै आएकामा पछिल्लो समय कुडुँलेमा निर्माणाधीन शालिग्राम सङ्ग्राहलय, सर्वसिद्धिधाम पञ्चकोटको अलौकिक संरचनाको प्रचार–प्रसारका कारण धार्मिक पर्यटकका लागि बागलुङ गन्तव्य बन्न थालेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

म्याग्दी तथा मुस्ताङ भ्रमणका लागि आएका पर्यटक फर्कदा छोटो समय मिलाएर कालिका, पञ्चकोट र शालिग्राम सङ्ग्रहालय अवलोकनका लागि आउने गरेको होटल व्यवसायी समिति बागलुङका अध्यक्ष निलेश राजभण्डारी बताउछन् ।

यहाँ रात बसेपछि अर्को दिन सहजै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् । दैनिक सिधा बस सञ्चालन भएपछि बागलुङ कालिकाको दर्शन गरेर जोमसोम बस्न पुग्ने गरी आउने पर्यटकको संख्या बढेको अध्यक्ष राजभण्डारीले बताए ।

गत वर्षदेखि निर्माणाधीन धार्मिक पञ्चकोटसमेत पर्यटकको रोजाइमा पर्न थालेको छ । “मेरो होटल भरिभराउ हुन थालेको छ”, होटल पिस प्यालेसका सञ्चालकसमेत रहेका अध्यक्ष राजभण्डारीले भने, “मुस्ताङ जाने सिजन भएकाले बागलुङको पर्यटन व्यवसायमा समेत प्रगति हुन थालेको छ ।” दसैंपछि आउने सयौं पर्यटकको बुकिङसमेत भइरहेको उनले बताए ।

“गत वर्ष पर्यटन सिजनमा मुस्ताङ आउने जाने पर्यटक होटल अभावकै कारणसमेत बागलुङ बस्न आएको पाइन्छ”, अध्यक्ष राजभण्डारीले भने, “यो सिजनमा पनि बागलुङका स्तरीय होटल खाली बस्नु पर्दैन भन्ने हाम्रो आँकलन छ ।”

मुस्ताङ आउने जाने पर्यटकलाई एक दिन र रात मात्र भए पनि बागलुङ बसाल्न सकिएमा यहाँको पर्यटन व्यवसाय प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास उहाँको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार ००:००