११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बु्रमर सञ्चालनको पाँच महीनाः सडकको अवस्था उस्तै



शर्मिला पाठक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौंको सडकमा कुनै परिवर्तन आउन सकेको छैन ।

सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौंवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कामपाले बु्रमर सञ्चालन गरेको पाँच महीना भयो, महानगरको सडकमा धुलो कम भएको छैन । कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा बु्रमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन ।

कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको कारण हुने हिलो सफा गर्नु अर्को थप चुनौती हो । दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्ममा करीब ५०० टन धुलो सङ्कलन गरिसकेको श्रेष्ठको भनाइ छ ।

सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाडौंको अनुभूति गर्न पाएका छैनन् ।

गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएको दुई गरी सात बु्रमर प्रयोगमा रहे पनि काठमाडौंको सडक सफा हुनसकेको छैन । सात वटै बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।

प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी हो । यो समस्या समाधानका लागि सडक विभागले केही स्थानको सडकको खाल्डाखुल्डी पुर्ने काम गरे पनि धेरै स्थानको काम हुन बाँकी रहेको छ । जसका कारण बु्रमर सञ्चालन गर्न समस्या भएको छ ।

न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजार लगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो ।

महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो ।

ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौं भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको विभागले जनाएको छ ।

कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा पर्दछन् भने अरु सडकहरु सडक विभागको मातहतमा रहेको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार ००:००