६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जङ्गली जनावर धपाउन खेतमै डेरा




कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तल लगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।

“जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले भने, “जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ ।” आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न नपाएको उनले बताए ।

“पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ”, अर्का किसान नारायणसिंह महराले भने, “थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले खेतमै रातभर बस्नुपरेको छ ।” जङ्गली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् । वर्षात्का बेला चित्तल र बदेलले धानबाली खाएर हैरान पार्ने गरेका छन् भने हिउँदमा नीलगाई लगायतका जनावरले गहुँबाली खाएर किसानलाई मर्कामा पार्ने गरेका छन् ।

“जनावरका कारण रातभर सुत्न त पाउँदैनौँ”, स्थानीय रामबहादुर ऐरले भने, “खेतमै डेरा हालेर दुई सातादेखि बस्दै आए पनि पूरै धानबाली जोगाउन पाएका छैँनौँ ।” बस्तीको माथिल्लो र तल्लो भेगमा जङ्गली जनावर रोक्नका लागि ‘फेन्सिङ’ गरिएको भए पनि यस क्षेत्रको दुई किलोमिटरको क्षेत्रमा जङ्गली जनावर रोकथामका लागि कुनै उपाय गरिएको छैन । निकुञ्जको विस्तारित क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई दुई दशकअघि पुनः स्थापन गरिएको थियो ।

हात्तीले उखु र धानबाली नोक्सान

शुक्लाफाँटा नगरपालिका–१२ का ३० परिवारले लगाएको उखु र धानबालीमा जङ्गली हात्तीको बथानले नोक्सानी पु¥याएको छ ।

लगातार चार दिनदेखि हात्तीको बथान खेतमा छिरेर बालीमा नोक्सानी पु¥याउँदै आएको छ । साँझ नपर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथान भगाउनका लागि स्थानीय बासिन्दा रातिका बेला पालैपालो जाग्रामसमेत बस्दै आएका छन् ।

केही दिनअघि मात्रै हात्तीको आक्रमणबाट चन्द्रबहादुर चौधरीको गोठमा बाँधेको गोरुसमेत मरेको स्थानीय मङ्गल चौधरीले बताए । पटाका पडकाएर, साइरन बजाएर र थाली बजाएर हात्ती भगाउने गरिएको उनले बताए । रासस

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ००:००