६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तीनै तहबीच समन्वय आवश्यक’




पोखरा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित संरचनाअनुरुप तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित ‘अन्तर तह समन्वय तथा स्थानीय तहको क्षमता विकास’ विषयक अन्तरक्रिमा उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै जन अपेक्षाअनुरुप अघि बढ्नुपर्ने बताए ।

जनप्रतिनिधि र कर्मचारीले जनताका अपेक्षालाई बुझेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले जनताले प्रत्येक गतिविधिलाई सूक्ष्मरुपमा नियालिरहेको उल्लेख गरे । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन जनप्रतिनिधि र राष्ट्रसेवकको काँधमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री पण्डितले सामान्य त्रुटि पनि जनताले हेरिरहेको हुँदा त्यसतर्फ सजग भई काम गर्नुपर्ने औल्याए ।

जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी बन्दा त्यसले नकारात्मक सन्देश प्रवाह भइरहेको बताउँदै उनले त्यस्ता गतिविधिमा संलग्न नभई जनचाहनाअनुरुप गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रसेवकले राज्यले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताउँदै मन्त्री पण्डितले विभिन्न समस्या देखाएर सुगम ठाउँमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेशअन्तर्गत जन प्रतिनिधि र कार्यकारी अधिकृत सहभागी दुईदिने कार्यक्रममा अन्तर तह समन्वय एवं स्थानीय तहको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार ००:००