५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण



म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने ११५ मिटर लामो सो पुल ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २०० घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताए ।

पुल निर्माण भएपछि दोसल्ले, तिप्ल्याङ, बेग, बादुक, टिकोट र हिस्तानका बासिन्दालाई सुविधा पुगेको छ । यसबाट घुमाउरो बाटो हिँड्नुपर्ने वा तुइन तर्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । अध्यक्ष गर्बुजाका अनुसार डेढ घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । यसअघि दोसल्लेबाट बेगखोला पुग्न तिप्ल्याङ पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता भएकामा अहिले २० मिनेटमै दोसल्लेदेखि बेनी–जोमसोम सडकमा पुग्न सकिने भएको छ ।

घुमाउरो बाटो हिँड्नुपर्ने भएपछि त्यहाँ तुइन राखिएको थियो तर पुल बनेपछि तुइन पनि पूर्णरूपमा विस्थापित भएको स्थानीयवासी मिलन गर्बुजाले बताए । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक सहयोगमा गाउँपालिकामार्फत सो पुल निर्माण गरिएको हो ।

पुल निर्माणका लागि टिबीएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएको, मजदुरको ज्याला निर्माण सामग्री खरीदको भुक्तानी गाउँपालिकाले गरेको थियो भने गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक र सामाजिक परिचालनमा सहयोग गरेको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको उपल्लो घलेम्दी खोलामा ३२ लाख ७७ हजार ५६५ को लागतमा ४३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ भने वडा नं ७ र ८ को सिमानामा पर्ने मर्ना खोलामा ११ लाख ५१ हजार ३०१को लागतमा ३२ मिटर लामो झोलुङ्गे पुल मर्मत गरिएको छ ।

सडक सुविधाको पहुँचदेखि टाढा रहेका दुर्गम बस्तीमा आवतजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए । रासस

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार ००:००