९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीः तीन वटा ग्रामीण सडक कालोपत्र हुने




डोटी । जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ ।

सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी–धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो । जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उनले जानकारी दिए ।

प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र÷पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौँ सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ । रासस

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार ००:००