राँझा । बाँकेमा डेङ्गु रोगको सङ्क्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् ।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए । उनका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ । गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेङ्गु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताए ।
भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बाँकेमा हालसम्म डेङ्गु रोगबाट सङ्क्रमित सात जनामध्ये एकजना बाँकेका छन् भने अन्य छ जना बाहिरी जिल्लाका बिरामी रहेका छन् ।
बाँकेभन्दा अन्य जिल्लाबाट नेपालगञ्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेङ्गु फेला परेको हो । बाँके जिल्लामा ठूलो समस्याको रूपमा नदेखिए पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम रहेकोले पूर्वसतर्कता अपनाउनु पर्ने डा अधिकारीको भनाइ छ ।
डेङ्गु रोगको सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गरेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार डेङ्गु रोग फैलाउने लामखुट्टे नियन्त्रण र स्वास्थ्य सचेतनाका लागि प्रचारप्रसारको काम स्वास्थ्य कार्यालयले गरिरहेको छ । रासस
प्रतिक्रिया