८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यौलालीगाड खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा




बैतडी । बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका ७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् ।

बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज अवस्थीले जानकारी दिए । खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेस्र्याएर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । दैनिक सयभन्दा बढी मानिस वारपार गर्ने उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेको छ ।

बालबालिकाले विद्यालयसमेत सोही खोला तरेर जानुपर्ने हुँदा बालबालिकालाई झनै समस्या हुने गरेको छ । यसका साथै दैनिक उपभोग्य सामग्री किन्न बजार जानका लागि तथा वनजङ्गल, घाँसदाउराका लागि पनि सोही खोलाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । न्यौलाली, टोपेड, ओखडगाउ, कपडाइजर, खेतकोट लगायतका ठाउँका बासिन्दा उक्त खोलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । न्यौलालीगाड खोलामा झोलुङ्गे पुल निर्माणका लागि स्थानीय सरकारसँग माग गरेको भए पनि कुनै चासो नदिएको त्यस क्षेत्रका बासिन्दाको आरोप रहेको छ ।

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उक्त ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डडेल्धुरालाई सिफारिस गरी पठाइएको बताए । गाउँपालिकाका अन्य ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेकाले यो वर्ष उक्त ठाउँमा पुल निर्माण गर्न नसकिएको भए पनि अगामी वर्ष पुल निर्माण हुने उनले बताए । रासस

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार ००:००