९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलजला गाउँपालिका १५ हजार रोपनीे जग्गा अतिक्रमण



उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिहरूको अतिक्रमणमा परेको पाइएको छ ।

गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो ।

अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको पाइएको छ ।

सार्वजनिक तथा गुठीका जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४ का अध्यक्ष भीष्म मल्लको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष पदेन सदस्य हुने र सदस्य सचिव सामाजिक विकास अधिकृत लिलाधर सुवेदी रहने गरी समिति गठन गरेर जग्गाको खोजीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

समितिले पहिलो चरणमा गाउँपालिकाको वडा नं ३, ४, ७, र ८ गरी जम्मा ४ वटा वडाको वेनी मालढुङ्गा सडकखण्ड आसपास सार्वजनिक जग्गाको पहिचान गरिसकेको छ ।

यस वडामा सरकारी जग्गाका ३ सय ८८ वटा कित्ता रहेको र क्षेत्रफल १५ हजार २८२ रोपनी रहेको तथा उक्त जग्गा हालसम्म ब्यक्तिले आवासको लागि पक्की घर निर्माण गर्नुको साथै खेतीबाली लगाएर अतिक्रमण गरेको मल्लले बताए ।

अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गरेर गाउँपालिकाको मातहत ल्याउन अभियान नै थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

दोस्रो अभियानअन्तर्गत जग्गालाई कानूनबमोजिम करको दायरामा ल्याई सरकारी जग्गाको संरक्षण गर्ने लक्ष्यसहित भदौदेखि अभियानकै रुपमा सञ्चालन गरिने छ ।

सार्वजनिक जग्गा व्यक्तिले अवैध रुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सक्रियता देखाएको हो । रासस

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार ००:००