१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन वर्ष बित्दा पनि बनेन पुल




दमौली । तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो ।

म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । समयमै पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन र सर्वसाधारणले खोला वारपार गर्न सास्ती भोग्दै आएका छन् । वर्षाका बेला खोला बढेर आउँदा वारपार गर्न समस्या हुने गरेको स्थानीयवासी तमनसिंह नेपालीले बताए ।

वर्षायाममा दुईपाङ्ग्रे सवारीलाई खोला वारपार गर्न समस्या हुने गरेको छ । वर्षेनी मोटरसाइकल र स्कुटर खोलाले बगाउने गरेको उनले जानकारी दिए । “खहरेखोला भएकाले ठूलो पानी प¥यो भने ठूला सवारीलाई पनि वारपार गर्न हम्मेहम्मे हुन्छ”, नेपालीले भने । खोलामा पक्की पुल निर्माण हुने भएपछि खुशी भएका यहाँका स्थानीयवासी काम नै अलपत्र भएपछि निराश हुन थालेको स्थानीयवासी प्रेम नेपालीले बताए ।

वर्ष दिन बित्दासमेत कामले गति नलिँदा निराश बनेका छन् । यही गतिमा काम भए १० वर्षसम्ममा पनि पुल नबन्ने उनले बताए । पुल निर्माणका लागि काठमाडौँस्थित शान्ति निर्माण सेवासँग सम्झौता भएको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीले पुलको काम एक वर्षदेखि ठप्प छ । खोलाको दुईतर्फी र बीच भागमा पिलर मात्र ठडिएको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सचिन श्रेष्ठले पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति देखिएको जानकारी दिए ।

उनले भने, “तीन वटा पिलरको काम मात्र भएको छ, बिम र स्ल्याब राख्ने काम बाँकी छ ।” श्रेष्ठका अनुसार सम्झौता गरिएको समयमा आधा काम पनि गर्न नसेकेको कम्पनीले दुई पटकसम्म म्याद थपका लागि निवेदन दिएको छ । निर्माणमा ढिलाइ भएका कारण कार्यालयसमक्ष पेश नगरेसम्म म्याद थप गर्न नसकिने बारे निर्माण कम्पनीलाई जानकारी गराइएको श्रेष्ठले बताए ।

दुई स्पानको पुलको लम्बाइ ७० मिटर छ । चार करोड ९० लाख ८२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको थियो । पुल निर्माण सम्पन्न भएपछि जिल्लाको भीमाद बजारका अलवा स्याङ्जाको मिर्मी र पाल्पाका सर्वसाधारण लाभान्वित हुनेछन् । रासस

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार ००:००