५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाः खरको छानोमुक्त वडा बनाइँदै



दमौली । तनहुँको व्यास नगरपालिका ५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ ।

सो कार्यका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको तथ्याङ्क सङ्कलन शुरु गरिसकेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

“हालसम्म दुई सयभन्दा बढी घरको तथ्याङ्क आइसकेको छ,” उनले भने, “पूरै तथ्याङ्क प्राप्त भएपछि खरको छानो विस्थापित कार्यक्रम शुरु गर्छौँ । यस कार्यका लागि चालु आर्थिक वर्षको बजेट अपुग भए आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ ।

”सङ्घीय सरकारको नीति बमोजिम जिल्लाका २५० घरधुरीमा चालु आर्थिक वर्षमा खरको छानो विस्थापित गरिँदैछ । ब्यास नगरपालिकाको ७ देखि १४ वडा, भीमाद नगरपालिका र रिसिङ गाउँपालिका अन्तर्गतका वडामा खरको छानो विस्थापित गरिने सरकारको कार्यक्रम छ ।

सङ्घीय सरकारमार्फत ब्यास नगरपालिका ५ मा खरको छानो विस्थापित गर्न बजेट नपरेपछि वडाकै सक्रियतामा खरको छानो विस्थापित गर्न लागिएको र यसमा विपन्नलाई प्राथमिकता दिइने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मानहुँको पर्यटन प्रवद्र्धनका लागि ६० लाख

पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरेको छ । धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित वडा कार्यालयले मानहुँकोटलाई प्राथमिकतामा राखेको हो ।

त्यहाँको पर्यटन प्रवद्र्धनका लागि ४० लाख, मानहुँ पदमार्ग र आमा समूहको अधुरो भवन निर्माणका लागि १० लाख र भित्तामा मानहुँकोट ब्यासल्याण्ड लेख्न १० लाख विनियोजन गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसका लागि चापाघाटदेखि अलैँचेसम्म पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधन गुड्ने बाटोका साथै पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्ष्य गरेर अलैँचेसम्म पदमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पु¥याइने लक्ष्य छ ।

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा पर्दै आएको मानहुँकोटबाट दमौली बजार, माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृङ्खलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थल देख्न सकिने भएकाले पछिल्लो समय यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । रासस

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार ००:००