११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिसिङ गाउँपालिकाः भिरकोटका ३५० घरधुरीमा बत्ती बल्दै




कृष्ण न्यौपाने

दमौली । तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका ४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्ज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो ।

उक्त वडाको पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँका करीब ३५० घरधुरीमा विद्युत् विस्तारका लागि काम भइरहेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए । वडाध्यक्ष रानाभाटका अनुसार पोल गाडेर तार विस्तार भएपछि ट्रान्सफर्मर र मिटर जडान गरिनेछ ।

उक्त ठाउँमा विद्युतीकरणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष ०७५÷७६ मा ४० लाख र चालू आर्थिक वर्ष ०७६÷७७ का लागि ४० लाख बजेट विनियोजन गरेको छ । ८० लाखको लगानीमा दशैँ अगाडि नै बत्ती बाल्ने गरी काम शुरु गरिएको रानाभाटले जानकारी दिए । “दशैँ अगाडि नै झिलीमिली गाउँ बनाउने गरी कामलाई तीव्रता दिएका छौँ,” उनले भने, “पोल गाडेर तार विस्तार गर्ने बित्तिकै ट्रान्सफर्मर जडान गरेर प्रत्येक घर–घरमा बिजुली पु¥याउँछौँ ।”

साथै सिङ्गुवा, मधुवन र गुम्लेकमा पनि विद्युत विस्तारका लागि पोल गाड्ने काम भइरहेको छ । कूल एक हजार घरधुरी रहेको उक्त वडाको नारायणटार, हाडीटार, गुम्लेकलगायत हाल काम भइरहेको सहित गरी करीब ४३० घरधुरीमा बिजुली बल्न बाँकी रहेको छ । उक्त वडाको सबै घरधुरीमा चालू आर्थिक वर्षभित्रै बत्ती बाल्ने योजना छ ।

गुम्लेक ५२ घरधुरीमा भने केही दिनभित्रै बिजुली बाल्ने तयारी छ । उक्त ठाउँमा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणको ३५ लाख र गाउँपालिकाको चार लाखको लगानीमा सम्पूर्ण कार्य पूरा भइसकेको छ ।

जिल्लाकै विकट क्षेत्रको रुपमा परिचित यस ठाउँमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विद्युत् विस्तारको कामले खुशी छाएको पालिङटारका स्थानीयवासी कृष्ण रानाभाटले बताए । “अहिलेसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका छौँ,” उनले भने, “अब छिट्टै बत्ती बाल्न पाउने भएका छौँ ।” रासस

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार ००:००