७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्द्रा नदीमा पुल नहुँदा समस्या



घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न वडाका बासिन्दालाई कान्द्रा नदीमा पुल नहुँदा समस्या भएको छ । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवत–जावत गर्न कठिन भएको हो ।

उक्त नदीमा पुल नहुँदा वर्षात्को समयमा स्वास्थ्य सेवा लिन, दैनिक उपभोग्य सामान खरीददेखि लिएर नगरपालिका तथा प्रशासन कार्यालय आउनसमेत समस्या हुने गरेको घोडाघोडी नगरपालिका १२ का श्याम चौधरी बताउछन् ।

घोडाघोडी १२ का हरिराम थारू भन्छन्, “आधारभूत भौतिक पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिएर काम गर्नुपर्छ । कम्तीमा नगरपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण गर्नुपर्छ । पानी परेका बेला हामी नगरपालिकाको केन्द्रमै पुग्न पाउँदैनौँ, कहिलेकाहीँ वर्षात्को बेला बिरामी परे धेरै समस्या हुने गरेको छ ।

”त्यस्तै नगरपालिकाको वडा नं ९ सिखरझालाबाट थेवै हुँदै पहलमानपुर बजार जोड्ने उक्त नदीमा पुल नहुँदा सिखरझाला, गोदनी, विष्टटोल लगायतका बासिन्दालाई समस्या हुने गरेको छ । सिखरझालाको मुख्यबजार पहलमानपुर जाँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको सिखरझालाका धन रावत बताउछन् । उनी भन्छन्, “हाम्रो मुख्यबजार पहलमानपुर हो तर बर्सातमा हामीलाई आवतजावत गर्न निकै कठिन छ । खोलामा बाढी आएको दिन तर्न सकिँदैन । पुल नभएका कारण मुख्य काम पनि छुट्ने गरेका छन् ।”

उक्त नदीमा पुल नहुँदा वर्षात्मा विद्यार्थीलाई पनि विद्यालय तथा क्याम्पसमा पुग्न कठिन भइरहेको छ । क्याम्पस पढ्ने विद्यार्थी जोखिम मोलेर खोला तर्ने गरे पनि स–साना बालबालिकालाई भने निकै समस्या हुने गरेको कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्र बताउछन् । स्वास्थ्य सेवा लिनलाई पनि स्थानीयवासीले वर्खाको बेला सास्ती खेप्दै आएका छन् ।

हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्खाको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ । पुलका लागि स्थानीयवासीले बारम्बार माग गर्दै आए पनि हालसम्म पनि कसैले यसतर्फ ध्यान नदिएकाले वर्षात्को समयमा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता यथावत रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार ००:००