८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित तथा सीमान्तकृत परिवारलाई सौर्यबत्ती




चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडाका दलित, थामी तथा सीमान्तकृत समुदायका घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो । उज्यालो मेलुङ नारालाई साकार पार्न अनुदान वितरण गर्न शुरु गरेको सौर्यबत्ती सेटमा एक घरपरिवारलाई पुग्ने गरी चार वटा चिम, एउटा ब्याट्री, एउटा सोलार प्यानल र सौर्यबत्ती जडानका लागि आवश्यक पर्ने सामग्री रहेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

बिहीबारबाट शुरु गरेको अभियानमा मेुलुङ गाउँपालिका वडा नं ७ का १११ दलित तथा सीमान्तकृत र आइतबार वडा नं ४ का ४३ घरपरिवारलाई सौर्यबत्ती सेट उपलब्ध गराएको छ । बाँकी रहेका अन्य वडामा क्रमिकरूपमा वितरण गर्दै जाने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

अनुदानमा वितरण गर्न लागेको सौर्यबत्ती सेटको मूल्य प्रतिसोलार सेट १२ हजार पर्ने र गाउँपालिकाभित्रका एक हजार परिवारलाई नै वितरण गर्न करीब एक करोड २० लाख रकम पर्ने भएतापनि त्यसको सबै लागत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताए ।

मेलुङ गाउँपालिकाको दुर्गम क्षेत्रमा नियमित विद्युत् नहुने र अन्धकारमा बस्नुपर्ने बाध्यता तथा बालबालिकालाई अध्ययन गर्न समस्या हुने भएका कारण गाउँपालिकाले वैकल्पिक ऊर्जाको कार्यक्रमलाई अघि सारेको हो ।

मेलुङ गाउँपालिकाले उज्यालो मेलुङ अभियानअन्तर्गत गाउँपालिकाको मुख्यचोक तथा विभिन्न बस्तीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न गाउँसभाबाट नीति तथा कार्यक्रम नै पास गरी १० लाख रकमसमेत विनियोजन गरेको छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार ००:००