जाजरकोट । शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका ५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ । गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान नसकिने भएको छ ।
पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आईतबार विद्यालय आउन नसकेको त्यहाँका शिक्षक हरिश बुढाथोकीले जानकारी दिए । अघिल्लो वर्ष पनि त्यहाँको पुल वगाउँदा समस्या भएको थियो । बाढीका कारण देवीभक्त घर्ती, कमला शाही, जनकबहादुर शाही, रुद्रबहादुर शाही, रामबहादुर घर्ती, अनुरुप बिक, माया खत्री, बिल्खे कामी, चन्द्रबहादुर शाही र महेन्द्र शाहीको घरमा क्षती पु¥याएको छ ।
त्यस्तै जुनीबाल संरक्षण माविको प्रर्खाल भत्किएको र बिल्खे कामीको आरन पुरिएको छ । बाढीले सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत क्षति पु¥याउनाका साथै नलगाड नगरपालिका ८ सीमा गाउँसमेत असर पु¥याएको छ । बाढीका कारण त्यहाँका १८ घरका परिबार घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताए ।
बाढीका कारण आज बिहानै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका २ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले दुःख व्यक्त गरेका छन् । निरन्तर पानीका कारण जाजरकोट–राडी, दल्लीको यातायात सेवा अवरुद्ध भएको छ ।
निरन्तर पानी परिरहेकाले सबैले यात्रा गर्दा, घरमा बस्दा ध्यान दिन, अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आग्रह गरेका छन् । भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका बासिन्दालाई सचेत रहज आग्रह गरिएको हो । रासस
प्रतिक्रिया