११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामबजार खानेपानी आयोजनाको काम तीव्र




फिक्कल । इलाम सदरमुकाममा सञ्चालित खानेपानी आयोजनाले गति लिएसँगै स्थानीय पनि हर्षित भएका छन् । ‘इलाम बजार तेस्रो साना खानेपानी आयोजना’ले लक्ष्यभन्दा चारगुणा बढी प्रगति भएपछि यहाँका स्थानीय हर्षित भएका हुन् ।

आयोजनाका प्रमुख इञ्जिनीयर मेघराज धिमालले हालसम्म करीब चार प्रतिशत प्रगति गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म १९ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको बताए । अपेक्षाभन्दा बढी प्रगति भएकामा आफूहरुसमेत सन्तुष्ट भएको उनको भनाइ थियो ।

आयोजना सम्पन्न भइसक्दा इलाममा २४ घण्टा नै पानी आउने भएको छ । एशियाली विकास बैंक एडिबी को आर्थिक सहयोगमा २४ महीनामा सक्ने सम्झौतामा सञ्चालन भएको आयोजनाको काम तीव्ररुपमा सञ्चालन भइरहेको हो । आयोजनाको १९ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरीद, माटो परीक्षण, कर्मचारी व्यवस्थापनका काम सम्पन्न भएको हो ।

एशियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, सात हजार ४४७ मा खानेपानी आयोजनाको ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।

गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसंहार गर्ने बताइएको छ ।

खानेपानी ल्याउनका लागि यस अगाडि नै प्रतिघरधुरी १५ हजार २०० का दरले रकम उठाइ सकिएको ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार आयोजना सम्पन्न भएपछि इलाम बजारमा २४सै घण्टा पानी झर्ने छ ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडीखोलाबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उनले बताए ।

अहिले पानीको अभावमा दुई दिनमा एकपटक पानी वितरण गर्दै आएको इलाम नगरपालिकाको खानेपानीको समस्या समाधान गर्न आयोजना सहयोगी हुने स्थानीयको अपेक्षा छ । इलाम बजारमा पानी बोकेर खाने दिनको अन्त्य भएको भन्दै स्थानीयमा खुशियाली छाएको छ । शुरुमा जसरी काम भइरहेको छ आयोजना सम्पन्न नहुञ्जेल पनि यसैगरी काम गर्न पनि स्थानीयले सुझाव दिएका छन् । रासस

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ००:००