५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङको चराङमा ‘मेकी युरा सिँचाइ आयोजना’ निर्माण सम्पन्न




गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको चराङमा एक करोड १४ लाखको लागतमा ‘मेकी युरा सिँचाइ आयोजना’ निर्माण भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो ।

उक्त आयोजनापछि सिँचाइ अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषक लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारको ७९ लाख र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ३५ लाख गरी कूल एक करोड १४ लाखको लागतमा चराङ खोलादेखि साढे एक किलोमिटरको नहर निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले जानकारी दिए ।

अध्यक्ष विष्टका अनुसार कृषि उत्पादन (स्याउ, फापर, आलु र रायोको साग) को प्रशस्त सम्भावना रहेको विकट स्थानमा सिँचाइ सुविधा पुगेपछि चराङवासीले खुशी व्यक्त गरेका छन् । चराङमा १०६ घरधुरीको बसोबास रहेको उनले जानकारी दिए ।

त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले आयोजनाको सञ्चालनसँगै सिँचाइसँगै चराङ लघुजलविद्युत् आयोजना सञ्चालन गर्नसमेत सहज हुने बताए । उनले सिँचाइ सुविधा पुगेपछि चराङमा अब उवा, फापर, तोरी, आलु, केराउ लगायत विभिन्न कृषि उत्पादनका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

“मेकी युरा सिँचाइ आयोजना सम्पन्न भएसँगै चराङवासीमा कृषि उत्पादनप्रति नयाँ उत्साह पनि थपिएको छ”, उनले भने । चराङमा सिँचाइ नहुँदा स्थानीयवासीले वर्षमा एक पटक मात्र खेती गर्दै आइरहेको बताउँदै उनले भने, “अब भने गाउँमा सिँचाइ सुविधा पुगेपछि खेतीपाती गर्न पनि सजिलो हुन्छ” ।

त्यसैगरी चराङमा विमानस्थल निर्माणको समेत सम्भाव्यता अध्ययन हुने बताउँदै उनले अब उपल्लो मुस्ताङको समेत विकास निर्माणको माध्यमबाट विकटलाई पनि निकट बनाउनेतर्फ आफू लाग्ने जानकारी दिए । रासस

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ००:००