५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साप्सुखोला पक्की पुल उद्घाटन




खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हरित सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल बुधबार औपचारिक उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला २ नम्बर पुल प्रदेशसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका हुन् ।

दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकको साप्सुखोलाको ३० मिटर लामो पुल विसं २०७३ मङ्सिर २२ गते शिलान्यास गरिएको थियो । १८ महीनाभित्र पूरा गर्नेगरी विसं २०७३ वैशाखमा ठेक्का लागेको साप्सुखोला पुलको काम २१ महीनापछि हालै सम्पन्न भएको हो ।

ठेकेदार कम्पनीको चरम ढिलासुस्तीपछि निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको प्रतिनिधि परिवर्तन गरेर पुल निर्माणलाई पूर्णता दिइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजार लागतमा सो पुल निर्माणको काम सम्पन्न गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

सम्पन्न गर्नुपर्ने म्याद नाघेको १५ महीना बित्दासमेत पहिलो निर्माण कम्पनीले पुल निर्माणको काम नगरेपछि साकेला गाउँपालिकाको पहलमा विसं २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो । सप्सुखोला पुल निर्माणको काम अलपत्र भएपछि सांसद विशाल भट्टराईले विसं २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष लिखित माग गरेका थिए ।

पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि कामचोर ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम समावेश गरेर गृहमन्त्रालयमा सिफारिस पठाएको थियो । साप्सुखोला पुल सञ्चालनमा आएपछि साकेला गाउँपालिकासम्म नियमित यातायात शुरु गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

बेलायती सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम र्यापले ११ वर्ष लगाएर विसं २०६९ असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावाखोलामा पुल नहुँदा उपयोगविहीन बनेको थियो । दिक्तेल–खोटाङबजार सडकखण्डमै पर्ने तावाखोलामा पक्की पुल निर्माणका लागि ठेक्का लागे पनि अहिलेसम्म निर्माणको काम शुरु भएको छैन ।

तावाखोला पुल निर्माणको जिम्मा नेशनल महावीर सिद्धिशाही निर्माण कम्पनीले लिएको छ । पुल निर्माणको काम तत्काल शुरु गर्न निर्माण कम्पनीका प्रतिनिधि कर्ण खत्रीलाई निर्देशन दिइएको गाउँपालिका प्रमुख खड्काले बताए । ठेक्का लाग्नासाथ वर्षा शुरु भएका कारण काममा अवरोध पुगेकाले वर्षा कम भएपछि तोकिएकै मितिमा सम्पन्न गर्नेगरी निर्माणको काम शुरु गर्ने प्रतिनिधि खत्रीले बताएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा उत्पादन हुने कृषि उपज प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार तथा बाहिर निर्यात गर्ने लक्ष्यसहित निर्माण गरिएको हरित सडक पुल अभावमा हिउँदमा मात्र सञ्चालन हुँदै आएको थियो । रासस

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार ००:००