५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली



पूर्णप्रसाद मिश्र

काठमाडौं । आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् ।

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण सवारी चल्न सक्ने अवस्था छैन ।

सडकमा हिलो भएपछि पैदल यात्रु पनि हालै लगाइएको पर्खाल माथिबाट मात्र हिँड्न सक्छन् । पर्खालको चौडाइका कारण एकातिरबाट मात्र पैदल हिँड्न सकिन्छ । एकतिरको पर्खालबाट पैदल यात्रु आउजाउ गर्दा खस्न सक्ने समस्या हुने गरेको छ ।

बिपी चोकबाट मोटरसाइकल लगायत सवारीसाधन लिएर जानेले वाग्मती पुलमाथि राखेर हिँड्नुपर्छ । भद्रवासबाट मोटरसाइकल लगायत सवारीसाधन लिएर आउनेले भद्रवासको आदर्श माध्यमिक विद्यालय नजिकै राख्नुपर्ने बाध्यता छ । विद्यालय अघिको सडक पनि हिलोले जीर्ण छ । बनाउन नगरपालिका लगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

यो सडकबाट साँखु र भक्तपुरको चाँगुनारायण जान यस क्षेत्रका मानिसलाई सहज हुन्छ । स्थानीयवासी कृष्णदेव पुडासैनी आर्थिक वर्षको अन्त्यमा रकमान्तर भई आएको बजेटले हतारमा काम गर्दा सम्पन्न हुन नसकेको बताउछन् ।

पर्खाल लगाएको एक महीनामा केही ठाउँमा भत्किएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट आएर बनाइएको भनिएको सडकमा कतै पनि आयोजनासम्बन्धी सूचना राखिएको छैन । हतारमा सडक बनाइएकाले प्राविधिक अध्ययनसमेत नगरिएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी हरिकृष्ण श्रेष्ठ प्राविधिक अध्ययन नगरी सडकको दायाँबायाँ पर्खाल लगाउँदा कहिले डुबानमा नपर्ने बलौटे माटो भएको खेतसमेत जलमग्न भएको बताउछन् । यस क्षेत्रको वाग्मतीको फाँटमा अझै पनि धेरै खेती भइरहेको छ । पर्खाल लगाएपछि यस वर्ष लगाइएको मकैसमेत राम्रो उत्पादन भएन । धान पनि नफल्ने किसानको चिन्ता छ । जग्गा प्लटिङ गराउने उद्देश्यले मिलेमतोमा रातारात पर्खाल लगाएको पीडित कृषकको गुनासो छ ।

खेतको बीचमा यसै वर्ष बनाइएको घर पनि महीनौँदेखि डुबानमा परेको छ । कुनै सवारी सडक पार गर्न खोजे हिलोमा फस्ने गरेका छन् । निकाल्न डोजर बोलाउनुपर्छ । यो सडक पार गर्ने यात्रु असारे विकासको परिणाम स्वरुप यस्तो भएको बताउँछन् । यात्रु शर्मिला नगरकोटी विकासका नाममा जनतालाई दुःख दिने काम भएको बताउछिन् । कागेश्वरी मनोहरा नगरपालिका ३ मा यो सडक पर्छ । वडा अध्यक्ष राममणि पुडासैनी तीन वटा उपभोक्ता समिति बनाएर ४७१ मिटर सडकमा पर्खाल लगाइएको बताउछन् ।

“काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंबाट १ करोड ५० लाखमा यो योजना सञ्चालन गरिएको हो, यो बजेटबाट साउनेमूलतिर पनि पर्खाल लगाउन १५ लाख खर्च गरियो”, उनले भने । पर्खाल लगाउनु अघि धेरैतिरबाट निकास गएर डुबानमा पर्ने समस्या नहुने गरेको वडाध्यक्ष पुडासैनीले स्वीकार गरे । आवको अन्त्यमा ठेक्का लगाउने समय नभएकाले ४७१ मिटर सडकमा पर्खाल लगाउन तीन वटा उपभोक्ता समिति बनाउन बाध्य हुनुपरेको वडा कार्यालयले जनाएको छ ।

रुपेन्द्र पुडासैनी, सुरज पुडासैनी र शालिकराम पुडासैनी गरी तीन जनालाई तीन उपभोक्ता समितिको अध्यक्ष बनाइएको वडा सदस्य बद्री पुडासैनीले जानकारी दिए । तीन वटा उपभोक्ता समिति बनाइए पनि काम भने ओखलढुङ्गातिरको निर्माण व्यवसायी ल्याएर गरिएको स्थानीयवासीले सुनाए ।

आवको अन्त्यमा आएको बजेट खर्च गर्न सार्वजनिक खरीद ऐन र नियमावलीको प्रावधान विपरीत १ करोडभन्दा माथिको योजना पनि तीन वटा उपभोक्ता समिति गठन गरेर सम्पन्न गरी कागजात बनाइएको हो । वडा कार्यालयले काम सम्पन्न भएको दाबी गरेपनि सडक अलपत्र छ । सवारी पास हुँदैन । पैदल यात्रु पर्खालबाट तल झरेर हिँड्न सक्दैनन् । दुईतिरको पर्खालले पानी पास नहुँदा यस क्षेत्रको धान खेतीमा प्रभाव परेको स्थानीयवासी श्रेष्ठको गुनासो छ । प्राधिकरणका इञ्जिनीयर रञ्जन सिलवाल अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आवको अन्त्यमा बजेट नपठाउनुस्भन्दा पनि पठाएर हतारमा काम गराएको स्वीकार गर्छन् ।

“अर्थ मन्त्रालयका एक सहसचिवको रुचिमा यहाँ बजेट आएको हो, बजेट डिमार्केशन बाल लगाउन आएको हो, त्यो काम राम्रोसँग सम्पन्न भएको छ”, उनको दाबी थियो । प्राविधिक रुपले पर्खाल बनाउन उपयुक्त छ छैन भन्ने अध्ययन नभई रातारात आएको पैसा सिध्याउँदा गुणस्तरीय काम नभई बालुवामा पानी हाले जसरी बजेट सकिएको स्थानीय पीडितको गुनासो छ । रासस

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार ००:००