८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ



कावासोती । भूमिगत स्रोतबाट नवलपरासीपूर्व नवलपुरको एक हजार हेक्टर बढी क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिने भएको छ । जिल्लामा रहेका खेतीयोग्य जमीनमा सिँचाइको उचित प्रबन्ध नहुँदा राम्रो उत्पादन लिन नसकिएकाले भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयले ‘ट्युवेल’ गाड्ने कामलाई प्राथमिकता दिएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा गाडिएका ‘ट्युवेल’ बाट नवलपुरको ३२८ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ । चालू आर्थिक वर्षको योजना सम्पन्न हुँदा थप ७०८ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा पुग्ने भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयका प्रमुख श्रवन खनालले बताए । उनका अनुसार अहिलेका योजना सम्पन्न हुँदा जिल्लामा एक हजार हेक्टरभन्दा धेरै खेतीयोग्य जमीनमा सिँचाइको सुविधा पुग्ने छ ।

सिँचाइका लागि कुनै स्रोत नभएका खेतीयोग्य जमीनमा भूमिगत जलस्रोतको माध्यमबाट सिँचाइ प्रन्बन्ध गरिएको हो । यहाँका सयौँ हेक्टर जमीनमा सिँचाइको राम्रो प्रबन्ध उचित उत्पादन लिन सकिएको छैन । यसैलाई मध्यनजर गरेर गत वर्षदेखि सरकारले भूमिगत सिँचाइका लागि विशेष पहल थालेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय पोखराले भूमिगत सिँचाइका लागि ‘ट्युवेल’ गाड्ने कामलाई प्राथमिकता दिएको छ । उक्त कार्यालयले नवलपुरसहितका पाँच जिल्लामा भूमिगत सिँचाइको कार्य गर्दै आएको छ ।

नवलपुरमा सिँचाइको प्रबन्ध गर्न गत वर्षमात्र करीब सात करोडको लागतमा ‘ट्युवेल’ गाडिएको छ । गण्डकी प्रदेशकै अन्नको भण्डारका रुपमा लिइएको नवलपुरमा सिँचाइको प्रबन्ध गर्न भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय पोखराले ‘ट्युवेल’ गाडेको हो । कार्यालय प्रमुख श्रवन खनालका अनुसार नवलपुरका तीन स्थानीय तहमा गत आर्थिक वर्षमा करीब सात करोडको लागतमा ‘स्यालो ट्युवेल’ तथा ‘डिपट्युवेल’ गाडिएको छ ।

कार्यालयले नवलपुरका चार स्थानीय तहमा गरी ४२ ‘स्यालो ट्युवेल’ तथा पाँच ‘डिप ट्युवेल’ गाडेको छ । कावासोती नगरपालिकामा २२, गैँडाकोटमा २२ र मध्यविन्दुमा २० मोटर जडान गरेको छ । रजहर, कुमारवर्ती, डण्डा र हुप्सेकोटमा विभिन्न क्षेत्रमा स्थानमा ‘डिप ट्युवेल’ समेत गाडिएको छ । खेतीयोग्य क्षेत्रमा बाह्य पानीको स्रोत नभएका स्थानमा भूमिगत जलस्रोतको माध्यमबाट सिँचाइको प्रबन्ध गर्न ‘ट्युवेल’ गाडिएको कार्यालय प्रमुख खनालले बताए । यसले नवलपुर क्षेत्रका खेतीयोग्य जमीनमा उब्जनी बढाउन सहयोग गर्ने उनले बताए ।

चालू आर्थिक वर्षमा समेत नवलपुरमा छ करोड ९० लाखको लागमा भूमिगत सिँचाइका लागि ‘ट्युवेल’ गाड्ने काम हुने कार्यालय प्रमुख खनालले बताए । उनका अनुसार नवलपुरका विभिन्न स्थानमा यस वर्ष १७ ‘डिप ट्युवेल’ र १४ ‘स्यालो ट्युवेल’ जडान गर्ने योजना रहेको छ । सिँचाइको राम्रो प्रबन्ध नभएका स्थान छनोट गरी ‘ट्युवेल’हरु गाडिने उनले बताए । यसले सिँचाइका सुविधा नपुगेका धेरै खेतीयोग्य जमीन पानीको अभावमा बाँझै राख्ने अवस्थाको अन्त्य गर्ने प्रमुख खनालले बताए । रासस

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार ००:००