७ फाल्गुन २०८०, सोमबार | Mon Feb 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै



राँझा । बाँकेको कोहलपुरमा ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका १२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको एक करोड ९७ लाख र प्रदेश सरकारको एक करोड ९७ लाख गरेर नाली निर्माण तटबन्धन गर्न काम शुरु गर्ने सहमति भएको छ । पशुबधशालाको संरचना निर्माणमा २० करोड लागतको अनुमान गरिएको छ ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले हेफर इन्टरनेशनलले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताए । उनले निबुवामा निर्माण हुने पशुबधशालाको गुरुयोजना तयार भएकाले दुई बिघा जग्गामा पूर्वाधारको काम शुरु भएको जानकारी दिए । कोलकताको जिकेसन एण्ड एशोसिएट्सले डिपिआरको काम गरिरहेको छ ।

बधशाला निर्माणमा सहजीकरणको भूमिका निर्वाह गरिरहेको हेफर इन्टरनेशनलका कार्यक्रम प्रबन्धक प्रकाश केसीले पशुबधशाला निर्माणका लागि खजुरा गाउँपालिकाबाट २० लाख, नेपालगञ्ज उपमहानगरपालिकाबाट १० लाख, बैजनाथ गाउँपालिकाबाट १० लाख र राप्ती सोनारी गाउँपालिकाले पाँच लाख लगानी गर्ने सुनिश्चित भएको बताए ।

पशुबधशालाको निर्माणमा सामाजिक उद्यमी जिल्ला सङ्घ, बाँकेमा संलग्न १५ सामाजिक उद्यमी महिला सहकारी संस्थाका १० हजार महिलाले एक करोड ३० लाख लगानी गर्ने भेटनरी अस्पतालका प्रमुख डा हरिबहादुर कुँवरले बताए । बाँकेका सबै स्थानीय तह, सहकारी र प्रदेश नं ५ सरकार पशुबधशाला निर्माणमा सक्रियताका साथ लागिपरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा पशुबधशाला निर्माणका लागि प्रदेश सरकारले सात करोड बजेटको व्यवस्था गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् ।

प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा बाँकेमा तीन अत्याधुनिक मासुबजार सञ्चालन भएका छन् । कृषि मन्त्रालयले यम्मी फ्रोजन नेपालगञ्जका सञ्चालक दीपेन्द्रराज श्रेष्ठ, एमके पिग फार्म कोहलपुरका माधव रेग्मी र जयपृथ्वी कृषि सहकारी संस्था नेपालगञ्जका अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँगको साझेदारीमा अत्याधुनिक मासुबजार सञ्चालनमा ल्याएको हो ।

निजी क्षेत्रले ५० लाखको लगानी सुनिश्चित गरेपछि त्यसका आधारमा प्रदेश सरकारले ५० लाख अनुदान दिएको मन्त्री पौडेलले बताए । उनले बधशाला निर्माणसँगै जिल्लाको उत्पादन जिल्लामा खपत हुने र जनतालाई स्वस्थ मासु उपलब्ध गराउनुका साथै रोजगारी सिर्जनामा पशुबधशालाले भूमिका खेल्नेमा जोड दिए । रासस

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार ००:००