११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङका सबै गाउँ टेलिफोनको पहुँचमा




बझाङ । बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५र७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन् । त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको सङ्ख्या पाँच हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको सङख्या एक हजार ५०० पुगेको छ ।

टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्युँकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ । टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ ।

त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ । टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ ।

छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ । फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताए । रासस

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ००:००