९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’




गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका ८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ । गएको माघमा शुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

“यहाँ खानेपानीको अत्यन्तै अभाव हुँदै आएको थियो”, वडाध्यक्ष गुरुङले भने, “एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो, आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।”

आयोजना निर्माणका लागि गाउँपालिकाले पाँच लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले १७ लाख र बाँकी रकम उपभोक्ताबाट प्रतिघर १३ हजारका दरले सङ्कलन गरिएको उनले बताए । त्यस्तै उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए ।

“आयोजना निर्माण शुरु भएदेखि नै उपभोक्ताहरुले प्रत्येक घरधुरीबाट ३३ दिनसम्म जनश्रमदान गरेका गरे”, वडाध्यक्ष गुरुङले भने, “पाइपलाइन खन्ने, धारा बनाउने कामदेखि लिएर ढुङ्गा, गिट्टी, बालुवा बोक्नेसम्मको काम उपभोक्ताले गरेका छन्, यहाँका उपभोक्ताको अथक मेहेनतबाट घरघरमा पानीको धारा पुगेको हो ।”

रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए । निर्माण शुरु भएको सात महीनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । आयोजना निर्माण नहुँदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए ।

आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताए । उनले भने, “सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।” रासस

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार ००:००