गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका २ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् ।
गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।
स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ । पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए । “उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ”, उनले भने, “थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन्” वडाध्यक्ष गुरुङले भने, “पहिरोले पूरै क्षति भएको त होइन, बस्ती अत्यन्तै जोखिममा भने परेको छ ।”
त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए । गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उनले जानकारी दिए । त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।