१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाचौरमा अठ्ठाइस करोड बढीको लगानीमा खानेपानी आयोजना



कञ्चनपुर । भीमदत्त नगरपालिका ८ तिलाचौरमा २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट सात करोड १२ लाख ऋण र १९ करोड ९५ लाख रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको छ ।

उपभोक्ताको लागत सहभागिताबाट एक करोड ४२ लाख रकम सङ्कलन गरिएको समितिका अध्यक्ष करवीरसिंह ऐरले बताए । तीन वडाका एक हजार ७३० घरपरिवारमा निजी धारा वितरण लाइन निर्माण गरिनेछन् । खानेपानी आयोजना निर्माणकार्य पूरा भएपछि नगरपालिकाका वडा नं ८, ६ र उक्त घरधुरीका १० हजार बासिन्दा लाभान्वित हुने नगरप्रमुख सुरेन्द्र विष्टले बताए । अठार महीनाभित्र सम्पन्न हुने आयोजना निर्माणकार्य दुई साताभित्रै सञ्चालन गरिने उनले बताए ।

आयोजनाका लागि उपभोक्ताबाट पाँच प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । बीस वर्षे अवधिका लागि डिजाइन गरिएको सो आयोजनाबाट सन् २०३९ मा २१ हजार बासिन्दा खानेपानी सेवाबाट लाभावान्वित हुने अनुमान गरिएको छ ।

वडा वडामा सौर्यबत्ती

शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडानकार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न ६३ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडाको माग र आवश्यकताका आधारमा बजेट बाँडफाँड गरी काम अगाडि बढाइएको नगरपालिकाको ऊर्जा समितिका संयोजक कमल गिरीले बताए ।

वडाध्यक्षहरुसँग लामो छलफल गरी सहमति गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि आवश्यकताका आधारमा बजेट बाँडफाँड गरिएको उनले जानकारी दिए । गत आवमा नगरपालिकाले गोबरग्यास प्लान्ट निर्माण र सौर्यबत्ती जडानकै लागि १२ लाख बजेट खर्च गरेको छ । ऊर्जा शाखाका कर्मचारी सुरेन्द्र भट्टका अनुसार सात लाख रकम खर्चेर ४७ बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान रकम दिइएको थियो । गोबरग्याँस प्लान्ट निर्माण गर्ने बासिन्दालाई प्रतिप्लान्ट १४ हजार ४०० का दरले अनुदानको रकम दिइएको थियो । रासस

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ००:००