घोराही । निर्माणाधीन लमही–कोइलाबासको जङ्गल क्षेत्रमा भर्खरै गरिएको कालोपत्र सडक चिराचिरा परेर फाटेको छ । केही दिन पहिलेको वर्षाले हुलाकी राजमार्गअन्तर्गत हालै निर्माण गरिएको कालोपत्र फाटेर सडक नै धस्सिएको हो ।
निर्माण नसकिँदै भत्किन थालेपछि स्थानीयले विरोध जनाएका छन् । स्थानीयवासी मेघबहादुर चौधरीले निर्माण व्यवसायीको कमसल कामका कारण यस्तो भएको आरोप लगाए । उनले सडक डिभिजन कार्यालयले निर्माणको क्रममा चासो दिएर अनुगमन नगर्दा कमजोर सडक बनेको बताए ।
लमही कोइलाबास सडकको कालोपत्रे गरिएको १४ किलोमिटरमध्ये जङ्गल क्षेत्रमा पर्ने ठूलीचौरबाट कोठरीसम्मको झण्डै चार किलोमिटरको विभिन्न भाग चिरा परेको हो । सडकको साँघुरो नाली पानीसँगै झरेको, ढुङ्गा तथा पात पतिङ्गरले पानी जमेर सडकबाटै बग्दा सडक भत्किएको निर्माण कम्पनी कुमार कालिका जेभिका प्रतिनिधि मुकेशकुमार शाहले बताए ।
“यहाँको माटो पनि निकै कमजोर छ, भिरालो जमीन भएको हुँदा माटो सबै बगाएर लगेपछि चिरा परेको हो”, उनले भने, “बाटो चिरा परे पनि हामीले यसलाई पुनः मर्मत गर्ने तयारी गरेका छौँ ।” उनले बाटो निर्माण कार्यलाई प्राकृतिले साथ नदिए पनि आफूहरुले गुणस्तरीय बाटो नै जनतालाई हस्तान्तणर गर्ने बताए ।
भारतीय प्राविधिकको प्रत्यक्ष निगरानीमा नेपाली निर्माण व्यवसायीबाट निर्माण भइरहेको उक्त सडक पहिलेको राप्ती अञ्चलको प्रवेशद्वारका रुपमा चिनिने कोइलाबास नाका जोड्ने सडक हो । कूल ३३ किलोमिटर लामो सो सडक ७६ करोडको लागतमा दुई वर्षदेखि निर्माण भइरहेको छ । रासस
प्रतिक्रिया