६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा नगरपालिकाले लियो



वालिङ । स्याङ्जाको गल्याङ ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र (अस्पताल)को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ ।

गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो ।

झण्डै १० वर्षअघि स्थानीयवासीबाट २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा तीन करोड र भारतीय सरकारबाट पाँच करोड गरी करीब आठ करोड ६५ लाखको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको अध्यक्ष लालगोपाल अर्यालले बताए ।

“खरिद गरिएको पन्ध्र रोपनी जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका थियौँ”, उनले भने, “स्वास्थ्य केन्द्रबाट अझै बढी सेवा दिनुपर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महशुस गरी यो संस्था र नगरपालिकाको संयुक्त सहकार्यमा सेवा सञ्चालन गर्न लागिएको हो ।” पन्ध्र शैय्याको अस्पतालअनुमति पाएको यस केन्द्रको आवश्यक मापदण्ड पूरा गरी शैय्या थप गरिने र सेवालाई प्रभावकारी तवरले सञ्चालन गरिने नगरप्रमुख भूपराज अधिकारीले बताए ।

यो केन्द्रलाई गल्याङ सामुदायिक नगर अस्पतालका रुपमा विकास गरी यहीँमार्फत स्वास्थ्य बीमासहितको सबै प्रकारका उपचार सेवा सञ्चालन गरिने भएकाले उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता हटेर जाने उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ००:००