६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द



भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् ।

व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो ।

साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङले बताए । उनले भने, “हामीलाई कुनै विकल्प नदिइ एक्कासि हाम्रो घर टहरा र होटल तथा व्यवसायमाथि डोजर चलाइयो, यसको विरोधमा हामीले आजदेखि नगरकोट अनिश्चितकालीन बन्द गराएका हौँ ।”

साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् । स्थानीयवासी धनबहादुर लामाले नगरपालिकाले जबर्जस्ती गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएको बताउँदै यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष प्रभाव पार्ने बताए ।

उनले नगरकोट आउने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने जनाए पनि केही पर्यटक बन्द भएको सुनेर बीचबाटै फर्किएको जानकारी दिए । यता नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने पटकपटक सूचना जारी गरी माइकिङ गरेर नै अवैध संरचना हटाइएको जानकारी दिँदै बाँकी २० घर, टहरा आज भत्काइने बताए ।

नगरपालिका र वन कार्यालयले भट्टेडाँडा नगरकोट टावरसम्मका अवैध घर, टहरा भत्काएको थियो । हिजो घर टहरा भत्काउने क्रममा झडपसमेत भएपछि सुरक्षाकर्मी परिचालन गरी भत्काइएको थियो । यहाँका ठूला होटल सञ्चालकहरूले भने अवैधरुपमा सञ्चालित होटल तथा रेस्टुराँले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै यस्ता व्यवसाय हटाउन माग गर्दै आएका थिए । रासस

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ००:००