१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षौँपछि गाउँमा खानेपानी




जाजरकोट । बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो । उनलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो ।

सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो । पानीकै लागि ठूलै सङ्घर्ष गर्नुपरेको कमलाले बताइन् । घर नजिक पानी नहुँदा दुई घण्टा टाढा नमेलाखोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई । भद्रकला र कमला मात्र होइन, गाउँका १०० घरका महिलाको पीडा उस्तै थियो । एक गाग्री पानी लिन दुई घण्टा पैँदल हिँडेर नमेलाखोलाको नाउलामा जानुपर्ने, पालो कुरेर बस्नुपर्ने बाध्यता थियो ।

त्यो विगतको पीडा अन्त्य भएको छ । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुशीले गद्गद् छन् । खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको ४८ लाख लागत र स्थानीयवासीको श्रमदानबाट खानेपानी निर्माण भएको बृहत खानेपानी उपभोक्ता निर्माण समितिका सचिव रणबहादुर खत्रीले बताए । लामो समयदेखि खानेपानी समस्या भोगेका गाउँका स्थानीयवासी पानी आएपछि खुशी भएका छन् । लैखमवासी १०० घरधुरीले खानेपानीको सुविधा पाएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

बारेकोट गाउँपालिका–८ को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँलगायत गाउँमा तीन वर्षपछि खानेपानी योजना बनेको स्थानीय ६८ वर्षीय मनबहादुर खत्रीले बताए । यो गाउँमा पानी आउँला भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् । वर्षामा आकाशबाट आएको जम्मा गरेको पानी खानुपर्ने बाध्यता, हिउँदमा नाउलाको पानी खानुपर्ने समस्या अन्त्य भयो । अहिले धेरै सहज भएको छ, अर्का हरिबहादुर खत्रीले बताए । उक्त खानेपानीबाट १०० घरधुरीलाई पायक पर्ने गरी १४ धारा राखिएको छ । रासस

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार ००:००