३ फाल्गुन २०८०, बिहिबार | Thu Feb 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एक घर एक धारा’ अभियान अन्तर्गत घरैपिच्छे धारा जडान




लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका ३ गाउँशहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो ।

अभियानअन्तर्गत गत मङ्सिरको पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पैसठ्ठी हजार लिटर क्षमताको पानीको ट्याङ्की निर्माण भइसकेको छ । त्यस्तै घरघरमा खानेपानी पाइप बिच्छ्याइनाका साथै मिटरबक्ससमेत जडान भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चबहादुर हिमालीले बताए । मुहानमा इनटेक, रिजर्भ ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने कार्य, धाराका संरचना निर्माण मिटर जडानदेखि धारामा पानी ल्याउने कामसम्मका सम्पूर्ण कार्य सकिएको उनले बताए ।

समितिका अनुसार ६५ घरधुरीमध्ये ५७ घरधुरी दलितको छ । त्यस्तै गैरदलितको आठ वटा घरमा समेत जडान गरिएको धारामा पानी झर्न थालेको छ । खानेपानी ट्याङ्कीबाट ५०० मिटरमाथि देवीस्थान (अलैँची बारी) को मुहानबाट खानेपानी ल्याइएको हो । प्रत्येक घरमा जडान गरिएको धारामा केही दिनअघिदेखि पानी आएको बेँसीशहर नगरपालिकाका प्रवक्तासमेत रहेका स्थानीय उपभोक्ता अजय मजाकोटीले बताए ।

धाराबाट आउने सफा पानी खान पाउने हुँदा स्थानीयवासीको स्वास्थ्यमा असर नपर्ने, समयको बचत हुने गाउँ सफा हुने, अन्य काम गर्न स्थानीयवासीको समय बचत हुने र पहिलाको जस्तो पानीको धारा खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाले उक्त खानेपानीका लागि आव २०७५÷७६ को बजेटबाट छ लाख तीन हजार उपलब्ध गराएकामा स्थानीयवासीको दुई लाख ५० हजार बराबरको श्रमदान र स्थानीय उपभोक्ताबाट छ लाख ५० हजार सङ्कलन गरिएको थियो । रासस

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ००:००