१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

लेखक स्थानीय खबर/संवाददाता २५ श्रावण २०७६, शनिबार २ मिनेट पढाइ

अन्जना पराजुली

विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।

पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ ।

यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ ।

भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् । उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताए ।

“सन्तान प्राप्ति होस् भनेर आउनेको संख्या धेरै छ,”उनले भने । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन् ।

यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको उनले जानकारी दिए ।

“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हँुदै गएको छ,” उनले भने । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको उनले गुनासो गरे ।

मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको पनि उनको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन् ।

सुनसरीको दुहबीबाट पूजा गर्न आउनुभएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउँछिन् ।

उनी यहाँ गाईको दूध चढाउन आउनुहुन्छ । “पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको छ, शौचालय व्यवस्थित गर्न सकेका छैनन्,” चौधरीले भनिन् ।

यस्तै विराटनगरबाट पूजा गर्न आउनुभएकी गीता कार्की आफ्नो लागि साउन महीना खास रहेको बताउँछिन् ।

साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वर धाम आउने गरेको उनले बताइन् । साउनमा माछा मासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन् ।

सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउँछन् । उहाँले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

मन्दिरमा भेटिनुभएकी विराटनगरकी सुष्मा पराजुली पनि बर्षेनी पिण्डेश्वर धाममा आउने गरेको बताउँछिन् । रासस

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।