६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाते कागजको माग धान्न धौ-धौ



रामबहादुर थापा/बाग्लुङ

नेपाली हाते कागजको माग अत्यधिक भएपनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ । वनमा लोक्ता त्यसै खेर गइरहेको छ । भएका उद्योगलाई कागजको माग धान्नै धौ–धौ छ ।

गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित घुम्टे हाते कागज उद्योगका सञ्चालक चुराबहादुर घर्ती वर्षमा ३ देखि ४ लाख थान कागजको माग आउने गरेको बताउँछन् ।

“मागअनुसार कागज पु-याउनै सकिएको छैन,” उनले भने, “हाम्रोमा जम्मा डेढ लाख थानसम्म कागज उत्पादन हुन्छ ।”

चैतदेखि जेठसम्म दैनिक १ हजार थानसम्म कागज उत्पादन हुन्छ । अघिपछि दैनिक २ देखि ३ सय थानसम्म उत्पादन हुने गरेको घर्तीले बताए ।

चर्को घाम लाग्ने मौसममा कागज छिटो सुक्छ । उनले उद्योग सञ्चालन गरेको २ वर्ष बित्यो । उद्योगमा उनीसँगै ५ जना कार्यरत छन् ।

५ ग्रामको एउटा कागजको मूल्य ५ रुपैयाँ ५० पैसा तोकिएको छ । “२ सय थानको एक कोरीको ११ सय रुपैयाँ पर्छ,” घर्तीले भने ।

वार्षिक झण्डै १० लाख रुपैयाँ बराबरको कागज बिक्री हुन्छ । लागत बढी भए पनि मुनाफा भने कम छ । “खर्च कटाएर डेढ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म बच्छ,” उनले भने “गाउँमै उद्यमी भएर बस्न पाउँदा खुसी छु ।”

उद्योग स्थापनाका लागि तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घलगायत संस्थाले आर्थिक सहयोग गरेका थिए ।

घर्तीको व्यक्तिगत लगानी झन्डै १० लाख रुपैयाँ छ । उद्योग खुलेपछि काम खोज्दै भौँतारिन नपरेको स्थानीयवासी सीता बिकले बताइन् । बिकसँगै हरिदेवी, धनमाया घर्तीलगायतले उद्योगमा काम गर्छन् । पारिश्रमिक पनि राम्रै थाप्छन् ।

लोक्ता सङ्कलन गर्न वनमा जानेले पनि उद्योगबाट काम पाएका छन् । उनीहरुले दैनिक ज्यालादारीमा काम गर्छन् । वनबाट एक खेप लोक्त ल्याएवापत ६ सय रुपैयाँसम्म ज्याला पाउँछन् ।

उद्योगले लोक्ता झिकेबापत सामुदायिक वनलाई प्रतिकिलो १० रुपैयाँ शुल्क बुझाउनुपर्छ । स्थानीय लोङ्गा र जइलुङ सामुदायिक वनबाट लोक्ता ल्याउने गरिन्छ ।

उद्योगमा बनेको कागज काठमाडौँ, भक्तपुर, पोखरालगायत शहरमा बिक्री हुन्छ । सरकारी कामकाज र हस्तकलाका सामग्री बनाउन नेपाली हाते कागजको प्रयोग हुन्छ । बढीजसो हस्तकला व्यवसायीले कागज किन्ने गरेको घर्तीले बताए ।

हाते कागजको माग हेरेर उद्योग सञ्चालनमा ल्याइएको ताराखोला गाउँपालिका–५ सीपस्थित ‘डुडेलेक नेपाली हाते कागज उद्योग’ का सञ्चालक प्रेमबहादुर रोकाले बताए ।

उद्योगमा असोजदेखि कागज उत्पादन भइरहेको छ । छ जना मिलेर खोलेको सो उद्योगमा आधुनिक प्रविधिबाट कागज बनाउने गरिन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घले लोक्ता फिट्ने (झोल) बनाउने यन्त्र उपलब्ध गराएको छ । केही वर्षअघिसम्म लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो ।

चालीस ग्रामको एउटा कागजको मुल्य रु ३० पर्छ । कागजको बजारीकरणमा नेपाल हाते कागज महासङ्घले उद्यमीलाई सघाएको छ । स्थानीय डुडेलेक र अल्बाङ सामुदायिक वनबाट लोक्ता झिक्ने गरिन्छ ।

लोक्तालाई प्रशोधन गरी कागज निकालिन्छ । उत्पादन गर्न सके हाते कागजलाई बजारको समस्या नहुने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए ।

“लागत र मेहनत बढी लाग्ने हुँदा यसमा उद्यमीको आकर्षण कम छ”, उहाँले भन्नुभयो, “लगानी र प्रविधि भित्र्याएर ठूलो मात्रामा उत्पादन गर्न सके फाइदा छ ।”

उद्योगमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । बागलुङको ताराखोला, पाण्डवखानी, लेखानी, तमानलगायत ठाउँमा नेपाली हाते कागज उद्योग सञ्चालनमा छन् ।

लगानी र व्यवस्थापन अभावमा कतिपय उद्योग बन्द छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममा पनि बागलुङको हाते कागज छनोटमा परेको थियो ।

वनमा त्यसै खेर गइरहेको लोक्ताको सङ्कलन, उत्पादन र बजारीकरण गर्न सके जिल्लाको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ ।

बागलुङ ‘नेपाली हाते कागजको जिल्ला’ भनेरसमेत चिनिन्छ । बलियो, टिकाउ र किरा नलाग्ने हुँदा नेपाली हाते कागजको प्रयोग बढेको हो । रासस

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार ००:००