५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भानु नगरपालिकाका पाँच वडामा बर्थिङ सेन्टर स्थापना




तनहुँ । तनहुँको भानु नगरपालिका कार्यालयले पाँच वटा वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ । बाह्र वटा वडा कार्यालय रहेको यस नगरपालिकामा पहिलो चरणमा रुपाकोट स्वास्थ्य चौकी, भानु स्वास्थ्य चौकी, पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र, ज्यामरुक स्वास्थ्य चौकी र वसन्तपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

भानु नगरपालिकाको १२ वटै वडामा स्वास्थ्य एकाइ स्थापना भइसकेकाले क्रमिकरुपमा सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य रहेको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । कतिपय स्वास्थ्य चौकीमा जग्गाको अभाव, ऐलानी जग्गाका कारण पनि बर्थिङ सेन्टर स्थापना गर्न नसकिएको हो । उनले भने, “बर्थिङ सेन्टरमा आएर शिशु जन्माउनेलाई प्रोत्साहनस्वरुप निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको छ ।”

नगरपालिकाले यही भदौ १ गतेदेखि लागू हुने गरी कार्यविधि तयार गरेको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सुरक्षा राख्न र घरमै प्रसूति गराउनेलाई निरुत्साहित गर्न एम्बुलेन्स भाडा नगरपालिकाले तिर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थामा आई प्रसूति गराउनेलाई दुई हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुवास रेग्मीले बताए । गर्भवती भएको समयमा चारपटक स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउने महिलालाई ८०० दिने व्यवस्था गरिएको छ । उनले भने, “प्रोत्साहन रकमसँगै न्यानो झोला पाइने भएपछि स्वास्थ्य संस्थामा आएमा प्रसूति गराउने सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ ।’’

स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने आमा र शिशुको स्याहारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । न्यानो झोला कार्यक्रमअन्तर्गत आमालाई एक जोर लुगा, बच्चालाई टोपी र नेम्फिन दुई दुई जोरको रहेको छ ।

स्वास्थ्य केन्द्रमा गई प्रसूति गराउन उत्प्रेरित गर्ने उद्देश्यले भानु नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित बर्थिङ सेन्टरमा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बताए । “यस किसिमको अभियानले नगरपालिका भित्रका महिलाहरुले राहातको महसुस गर्ने अपेक्षा लिइएको छ ।” रासस

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार ००:००