५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलो, हिलोले नगरकोटको पहिचान गुम्दै



तस्बिर स्रोतः संघीय संसदको विकास तथा प्रबिधी समिति ।

सूर्योदयको दृश्यावलोकनका लागि नेपालमा मात्र नभई विश्वमै प्रसिद्धि कमाएको नगरकोट हाल धुलो र हिलो उदय गराउने थलोका रुपमा पहिचान फेरिन थालेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमशृृङ्खला, वरिपरि देखिने सुन्दर एवं हरिया डाँडा र उपत्यकाको सबैजसो भाग हेर्न पाउनु नगरकोटको अर्को आकर्षण हो । यही आकर्षणले छ वर्ष अघिसम्म नेपाल आउने प्रायः पर्यटक नगरकोट पुग्ने गर्दथे ।

छ वर्षअघि शुरु भएको कमलविनायक–तेलकोट–नगरकोट १७ किमी सडक विस्तार, स्तरोन्नति र कालोपत्रको काम तीन पटक म्याद थपिँदा पनि ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । सडक निर्माणमा प्रगति हुन नसकेपछि पर्यटकीयस्थलको यो मार्ग धुलो र हिलो उदय गराउने स्थलका रुपमा विश्वमै बदनाम हुन लागेकामा स्थानीयवासी चिन्तित छन् ।

चाँगुनारायण नगरपालिकाकै गौरवको रुपमा रहेको नगरकोटमा जीर्ण सडकका कारण पर्यटक आवागमन घट्न थालेको छ । नगरकोट जाने पर्यटक धुलिखेललगायत अन्यत्र जान थालेपछि यहाँको पर्यटन व्यवसाय धराशायी बन्न पुगेको छ ।

सडकको दुरावस्थाका कारण पर्यटक धुलिखेलका साथै देशका अन्य भागमा जान थालेपछि चाँगुनारायण नगरपालिकाले प्रतिनिधिसभाको विकास तथा प्रवधि समितिमा उजुरी ग–यो । नगरपालिकाले उजूरी गरेपछि आइतबार समितिको समूहले स्थलगत रुपमा यो सडकको अनुगमन ग–यो ।

अनुगमनपछि सभापति कल्याणीकुमारी खड्काले राजधानीमै रहेको देशको प्रमुख पर्यटकीय स्थलमध्ये पर्ने नगरकोट जाने सडकको यो अवस्था हुनुमा जिम्मेवार सबै निकायका अधिकारीलाई कारवाहीका लागि समितिले निर्णय गर्ने चेतावनी दिइन् ।

“पूर्व तयारीका काम नगरी सडक ठेक्का लगाउने, ठेक्का लागेको सडकमा निर्माण व्यवसायीले समयमा काम शुरु नगर्ने, ठेक्का लागेको छ भनी मर्मत नहुँदा ठूला खाडल बनी सडकमा आवतजावत गर्न नसकिने अवस्था छ, यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन”–उहाँले भन्नुभयो ।

ठेक्का सम्झौता हुने बित्तिकै २० प्रतिशत मोबिलाईजेसन पेस्की लिएर निर्माण व्यवसायीले अन्यत्र उपयोग गर्दा पनि समस्या आइपर्ने गरेको सभापति खड्काले सुनाइन् ।

समितिले पूर्व तयारी नगरी ठेक्का नगर्न सरकारलाई निर्देशन दिइसकेकाले अब कारवाही गर्ने भएको छ ।

आयोजनाका कागज टेबलमा राखेर लामो समय निर्णय नदिने अधिकारीलाई पनि कारवाहीको दायरामा ल्याउने निर्णय समितिले गरेको छ ।

सडक तलबाट माथितिर निर्माण भइरहेको छ । तलबाटमाथि बनाउने कि माथिबाट तल प्राविधिक रुपमा के सही हो भन्ने आयोजनाले निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडक आयोजनाको चौमासिक कार्ययोजना समितिमा पेश गर्न पनि नगरकोटमा भएको अन्तक्र्रियापछि खड्काले निर्माण व्यवसायी र आयोजना कार्यालयलाई निर्देशन दिइन् ।

सांसद महेश बस्नेतले सन् २०२० को नेपाल भ्रमण वर्षअघि नै यो सडक निर्माण सम्पन्न नभए देशले घाटा व्यहोर्नुपर्ने बताए ।

अर्का सांसद रामबहादुर विष्टले स्थानीयवासीले शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएकाले काममा ढिलाइ भएकामा कुनै निकायले पनि दबाब दिन नसकेको गुनासो गरेकाले गम्भीर रुपमा लिनुपर्ने बताए ।

“काम नगर्ने निर्माण व्यवसायीलाई ठूला मान्छेले संरक्षण गरेसम्म विकास र समृद्धि सम्भव छैन, यस विषयमा समितिको ध्यानाकर्षण भएकाले छलफल गरेर सरकारलाई कडा निर्देशन दिन्छ,” बिष्टले भने ।

सांसद गणेश पहाडीले दुई वर्षमा सकिनुपर्ने सडक ६ वर्षमा ६५ प्रतिशत मात्र भौतिक प्रगति हुनु दुःखद् रहेको बताउँँदै आयोजना पूर्व तयारी नगरी ठेक्का गर्दा यस्तो परिणाम आएको हुनसक्ने बताए ।

सांसद यज्ञराज सुनुवारले कमलविनायक–नगरकोट सडक स्थानीयवासीको मात्र नभई विकास तथा प्रविधि समितिको पनि चासोको विषय बनेकाले अलपत्र नहुने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विश्वमै चिनिएको पर्यटकीय स्थल नगरकोटको सडक वर्षौंदेखि अलपत्र हुँदा अन्तर्राष्ट्रियस्तरमै विरोध, चर्चा र बेइज्जत भइरहेकोतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
“सम्झौता भएको ३० महीनासम्म रुख काट्न नपाएको भनी गुनासो गर्ने निर्माण व्यवसायीले रुख काट्नु नपर्ने स्थानमा पनि काम गरेनन्,” गेलालले भने ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सडक किनारमा बन्दै गरेका ड्रेन भत्कन थालिसकेका लगायतका धेरै समस्या आइरहेकाले दैनिक अनुगमन गर्न सर्वपक्षीय सहमतिमा उपसमिति गठन गरिएको जानकारी दिए

सडक निर्माण गर्दा ठाउँठाउँका कल्भर्ट थुनिएर सडकमा पानी आउने गरेकाले पनि बिग्रिएको छ ।

पानी परेका बेला कमलविनायकमा सडकमै खोला बग्ने गरेको गुनासो स्थानीयवासीको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले दुई वर्षमा सडक निर्माण गर्ने सम्झौता गरेको निर्माण व्यवसायी ३० महीनासम्म रुख काट्न नपाउँदा के हेरेर बसेको भनी प्रश्न गरे ।

मिश्रले सडकको दूरावस्थाका कारण २०७४ असोजमा दुर्घटनामा परी निधन भएका स्थानीय वृद्धको परिवारलाई कसले क्षतिपूर्ति दिने भनी समिति सभापति एवं सांसदहरुसँग जिज्ञासा राखे ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख सुशीलबाबु ढकालले भारतीय एक्जिम बैंकको एक प्रतिशत ऋण सहयोगमा सडक निर्माण सम्झौता भएको बताए । सम्झौता अनुसार भारतीय निर्माण व्यवसायी समेत उपस्थित हुनुपर्ने व्यवस्था रहेको ढकालले बताए ।

निर्माण व्यवसायीका आयोजना व्यवस्थापक सुदन गौलीले आयोजनाले ९ करोड रुपैयाँ निकासा रोकेकाले काममा ढिलाइ भएको दाबी गरे ।

निर्देशनालयका योजना प्रमुख जगत प्रजापतिले ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको बताकोमा गौलीले भने संरचनाका ९५ प्रतिशत काम सकिएको दाबी गरे । रासस

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ००:००