१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा चौपायाले सडक दुर्घटना बढ्दो



भेषराज बस्नेत

राँझा । नेपालगञ्ज शिक्षण अस्पतालमा कार्यरत नर्स शर्मिला थापा गए राति सडकमा रहेको छाडा पशुसँग ठोक्ँकिदा गम्भीर घाइते भएकी छन् ।

नेपालगञ्जको कारकाँदोमा छाडा चौपायासँग नर्स थापा चढेको स्कुटर ठोक्किएर दुर्घटना हुँदा टाउकामा गम्भीर चोट लागेकाले नेपालगञ्जमा उपचार हुन नसकेपछि शनिबार राति नै उनलाई भारतको लखनऊमा थप उपचारका लागि लगिएको बुबा डम्मर थापाले जानकारी दिए ।

नेपालगञ्ज–कोहलपुर चारलेन सडकमा छाडा चौपायाको कारण सडक दुर्घटनाको जोखिम उच्च छ । सडक बीचभागमा छाडा चौपाया आवतजावत गर्ने र बीच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।

गत आव २०७५÷७६ मा छाडा चौपायासँग ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन् । रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिए ।

उनका अनुसार छाडा चौपायासँग ठोक्किएर राति ८ बजेपछिको समयमा सवारी दुर्घटना हुने गरेका छन् । राति सडकमा बसेका गाईगोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको छ । “दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, गाईगोरु चर्न जान्छन् होला”, सूचना अधिकारी पौडेलले भने, “रातिको समयमा सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन् ।”

दिउँसो सडकमा देखिने गाईगोरु लखेट्ने गरे पनि रातिमा फेरि सडकमै आएर बस्ने गरेका कारण छाडा चौपायाको कारण दुर्घटना दैनिकजसो हुने गरेको उनको भनाइ छ । छाडा चौपाया व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले पटक पटक पहल गरे पनि नियन्त्रण हुन सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको बताए । नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनको तयारी गरेकाले आगामी दिनमा समस्या न्यूनीकरण हुने उनले बताए ।

विगतमा नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज क्षेत्रका छाडा चौपाया गाई, गोरु, गधा बाँके निकुञ्जभित्रको जङ्गलमा पु¥याए छोडिए पनि पनि समस्या समाधान हुन नसकेको उनले बताए ।

सडकमा उभिएका र दौडिरहेका पशुचौपायाले पैदल यात्री र सवारी चालकको सातोपुत्लो लिने गरेका छन् । सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । बूढा पशुचौपाया गाई, गोरु र खच्चर सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार बढेको नेपालगञ्जका नागरिक अगुवा तेजविक्रम शाह बताउछन् ।

“सवारी दुर्घटनामा परी चारलेन सडकमा पशुचौपाया मरेका र गन्ध आइरहेका देखेकै छौँ”, उनले भने, “यसरी आँखै अगाडि दुर्घटना देख्दा पनि प्रहरी र जनप्रतिनिधिले चौपाया व्यवस्थापनतर्फ चासो नदिनु दुःखद कुरा हो ।”

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयअगाडि विपीचोक क्षेत्रमै चौबिसै घण्टा छाडा चौपाया देखिने गरेका छन् । चारलेन सडकको व्यस्त चोक चौराहमा छाडा चौपाया बस्नाले दुर्घटना बढी हुने गरेको शाहको भनाइ छ ।

नेपालगञ्जमा नगरवासीले घरका बूढा र रोगी गाई, गोरु, घोडा, खच्चर सडकमा छोड्ने चलन छ । बीच सडकमा साँढेले सडक जाम गर्ने, साइकल, मोटरसाइकल, रिक्सा जस्ता सवारीसाधन पल्टाउने र ठोकेरै हिँड्ने गर्छन् । वर्षौंदेखिको समस्याका रूपमा छाडा चौपायाको बिगबिगी चारलेन विस्तारपछि झनै बढेको छ । बजार क्षेत्रमा छाडिने यस्ता पशुले पसलका सामान खाइदिने, सर्वसाधारणलाई दुःख दिने गर्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको भर्खरै जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक पवीन्द्र बमले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पु¥याएकाले यो विषयमा गम्भीरताका साथ लाग्ने बताए । उनले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँग समन्वय र सहकार्य गरेर नियन्त्रणको कार्य थाल्ने जानकारी दिए । रासस

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार ००:००