१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण सामग्री सहज उपलब्ध नहुँदा पूर्वाधार निर्माणमा बाधा




काठमाडौं । ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको खरीद र ढुवानी सहज नहुँदा काठमाडौं उपत्यकामा पूर्वाधार निर्माणमा बाधा पुगेको छ । एकातिर काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन दिउँसो ढुवानी गर्न नपाउने नियम छ भने अर्कातिर स्थानीय तहले ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी उद्योगलाई सजिलै सञ्चालन अनुमति दिएका छैनन् ।

सहजरुपमा निर्माण सामग्री उपलब्ध नहुनु काठमाडौं उपत्यकामा अहिले विस्तारका क्रममा रहेका सडकमा निर्माणको काम अघि बढाउन समस्याका रुपमा रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । ढुङ्गा, बालुवालगायतका निर्माण सामग्रीसम्बन्धी उद्योग सञ्चालनका लागि अनुमति दिने अधिकार स्थानीय तहमा गएपछि निर्माण सामग्री पाउन गाह्रो भएको उनको भनाइ छ ।

कतिपय स्थानमा पालिका र वडा दुवैले कर उठाउने गरेका छन् । उपत्यकामा दिउँसो ट्रकलगायतका मालवाहक सामग्री बोक्ने सवारीसाधन चल्न नपाउने नियमका कारण रातमा मात्रै ढुवानी हुने गरेको छ । रातमा चालकलाई काम लगाउँदा लगानी बढ्ने निर्माण व्यवसायीले बताउने गरेका छन् । उनले भने, “हामीले समयमा काम गर्न ताकेता गर्दा निर्माण व्यवसायीले निर्माण सामग्री सहजरुपमा नपाएका कारण देखाउने गर्छन् ।”

काठमाडौं उपत्यकामा झण्डै चार वर्ष पहिलेदेखि ११ वटा सडक विस्तारको काम शुरु भएको थियो । तीमध्ये त्रिपुरेश्वर–नागढुङ्गा र चाबहिल–साँखुमा मात्रै काम केही अघि बढेको छ । अधिकांश ठाउँमा काम सुस्त छ । अधिकांश ठाउँमा सडक छेउका घर भत्काउन नदिँदा काम अघि नबढेको र बाँकी ठाउँमा निर्माण सामग्रीको अभाव रहेको आयोजनाले जनाएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार ००:००