नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना कार्यक्रममा सातभन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसंस्था साझेदारका रूपमा रहेका छन् । अहिले परीक्षणका रुपमा परियोजनाका कार्यक्रम सञ्चालन गरिएको छ । परीक्षण अवधि समाप्त भएपछि परियोजना पूर्णरुपमा सञ्चालनमा आउने अध्यक्ष कक्षपतिले बताए ।
परियोजना सञ्चालन हुने भएपछि त्यहाँका जनप्रतिनिधि र स्थानीयवासी उत्साहित भएका छन् । “‘हरित खजुरा’ परियोजना हाम्रा लागि ठूलो अवसर र चुनौती दुवै हो, यो परियोजनाले गाउँपालिकाको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिएका छौँ”, स्थानीयविज्ञ पूर्णप्रसाद उपाध्यायले भने ।
परियोजनाअन्तर्गत कृषि, सिँचाइ, विद्युतीकरण, प्रविधिको विकास, उन्नत बीउबिजन, वनजङ्गल संरक्षण, वृक्षरोपण लगायतका विषयवस्तु समेटिएको छ । परियोजनाले खजुरा गाउँपालिकाको गरीबी न्यूनीकरण गर्नुका साथै हरित शहरको विकास गरी गाउँपालिकालाई नमूना शहरमा रूपान्तरण गर्ने अपेक्षा लिइएको छ ।
कक्षपतिका अनुसार, हरित खजुरा परियोजना नेपालमै एउटा नौलो परियोजना हो । परियोजनाले कृषि, पशुपालन लगायत सबै पक्षलाई समेटेको छ । आधुनिक तथा वैज्ञानिकरूपमा खेती गर्नका लागि सिँचाइ, प्रविधि, उन्नत बीउबिजन लगायतका सामग्रीमा अनुदान प्रदान गरिनेछ भने पशुपालनका लागि पनि आवश्यक सामग्री परियोजनाले उपलब्ध गराउनेछ । करीब ५० हजार जनसङ्ख्या रहेको बाँकेको खजुरा गाउँपालिकामा झण्डै ९० प्रतिशत घरधुरी कृषि पेशा, व्यवसायमा आबद्ध छन् । उनीहरु सबैलाई परियोजनाको कार्यक्रमभित्र समेट्ने लक्ष्य तय गरिएको अध्यक्ष कक्षपतिले बताए ।
नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माण
लामो दूरीका लागि सञ्चालन हुने अत्याधुनिक नेपालगञ्ज बसपार्क निर्माणको काम करीब सकिएको छ । डेढ वर्षमा सक्नुपर्ने निर्माणको काम त्यति नै समय ढिला गरी तीन वर्षमा सकिएको हो । “फिनिसिङको काम मात्र बाँकी छ, एक साताभित्र बसपार्क सञ्चालनमा आउनेछ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने ।
खानेपानी ट्याङ्कीका लागि बोरिङ गाड्ने र शौचालयको सेफ्टीट्याङ्की निर्माणको केही प्रतिशत काम मात्र बाँकी रहेको प्याकुरेलले बताए । नगर कोषको ऋण सहयोगमा उपमहानगरपालिकाले १४ करोड ९४ लाखमा अत्याधुनिक बसपार्क निर्माणको ठेक्का दिएको थियो । झण्डै १४३ बस पार्किङ गर्नसक्ने क्षमताको टर्मिनल भवन, आधुनिक टिकट काउन्टर, तीन पसलसहितको भवन बसपार्कमा निर्माण गरिएको छ । रासस
प्रतिक्रिया