५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिका प्रमुख राई विरुद्ध धर्ना



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको स्थानीयवासीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

केन्द्रबाट बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरीय योजनालाई लत्याइएको भन्दै वडा नं २ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा नं ३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राई, वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिष्कारको घोषणा गरेका थिए । उनीहरुले नगरसभा बहिष्कार गरेको हप्ता दिनपछि मङ्गलबार दिउँसो करीब एक घण्टा धर्ना दिएका हुन् ।

चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आव २०७५÷७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राखे पनि बेवास्ता गरिएकाले धर्ना दिइएको वडा नं ७ का वडाध्यक्ष राईले बताए । सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनीहरुको जिकिर छ ।

आफ्नो मागलाई बेवास्ता गरेपछि आफूहरु असार ३१ गतेको चौथो नगरसभा टुङ्गिनुअगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताए । चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान ६ बजेदेखि ७ बजेसम्म हलेसीमा र दिउँसो १ बजेदेखि २ बजेसम्म च्यास्मिटारमा एक एक घण्टा चक्काजाम गर्ने जनाएका छन् ।

नगरप्रमुख राईले वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताएका छन् । “विरोधका लागि विरोध हो भने त्यसको कुनै औचित्य छैन”, उनले भने, “महालेखा परीक्षकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले सार्वजनिक गर्ने हो । तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छु । रह्यो वार्षिक प्रगति समीक्षा । उहाँहरुसमेतको सहभागितामा बसिएको कार्यपालिकाको बैठकले साउन महीनाभित्र गर्ने निर्णय भएको छ ।”

नगरप्रमुख राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित हुन् । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ००:००