५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा खसीबोका सङ्कलन केन्द्र निर्माण



गोरखा । गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो ।

गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज किशोर ठाकुरले जानकारी दिए ।

गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका सङ्कलन केन्द्र निर्माण भएको उनले बताए । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको डा ठाकुरको भनाइ छ । “यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहुँदा समस्या हुँदै आएको थियो”, उनले भने, “अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।” सङ्कलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उनले बताए ।

केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरु निर्माण गरिएका छन् । “प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “किसानहरुले आफँैले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर सङ्कलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैँले गर्नुपर्ने हुन्छ ।”

“गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हुँदा समस्या हुँदै आएको थियो, अब यहाँ सङ्कलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्”, डा ठाकुरले भने ।

जिल्लाबाहिरका व्यापारीहरुलाई सङ्कलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि सङ्कलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवर्द्धन गर्न जोड दिइने उनले बताए । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उनको भनाइ छ ।

बाह्रकिलो बजारबाट राजधानी काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पु¥याउन सजिलो हुने भएकाले उक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको प्रमुख डा ठाकुरले जानकारी दिए । “सडकदेखि नजिक सबै ठाउँमा आउजाउ गर्न यातायातको सुविधा तथा खसीबोका कुनै समस्या आइहालेमा उपचारका लागिसमेत नजिकै पशु अस्पताल रहेका यही ठाउँ उपयुक्त भएकाले छनौट गरी सङ्कलन केन्द्र निर्माण गरिएको हो”, उनले भने ।

सङ्कलन केन्द्र निर्माणका लागि कूल चार लाख ३० हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय गोरखाको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको वनको जग्गामा सङ्कलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । सङ्कलन केन्द्र निर्माण गरिएसँगै दशैँ लगायतका अन्य ठूला चाडपर्वका बेला जिल्लामा उत्पादित खसीबोका अन्य जिल्लामा निर्यात गर्न सजिलो हुने उनले बताए । रासस

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार ००:००