५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनाउ खोलामा पक्की पुल निर्माण सम्पन्न



बेझाड । जिल्लाको तानसेन नगरपालिका ९ र माथागढी गाउँपालिका जोड्ने अम्लिहानस्थित तिनाउ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण कार्य शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।

यस पुलले तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिकाका सबै वडालाई प्रत्यक्ष सुविधा पुग्नेछ । पुल निर्माण भएपछि गाडीमा आवतजावत गर्न मात्र नभई खेतीयोग्य जमीनमा खोला पसेर नष्ट गर्ने समस्याबाट मुक्त भएको स्थानीयवासी ध्रुव भण्डारी बताउछन् ।

“खेतमा रोपिएका धान वर्षाको भेलसहितको खोला पसेर सखापै हुन्थ्यो, जोखिमपूर्वक गाडीमा यात्रा गर्नुपर्थ्यो, अब निर्धक्कसँग आवजावत गर्न पाइने भयो”, उनले भने । जिल्लामा निर्माण कार्य थालनी गरेका अधिकांश योजना तोकिएको समयमा काम सम्पन्न नभएर पटक पटक म्याद थप गरेर काम सम्पन्न गरिन्थ्यो भने यो पुल छिटोछरितो तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न हुन पुगेको छ ।

रसुवा कन्सट्रक्सन कम्पनी धापासी काठमाडौंले २०७५ असार २३ गते छ करोड ६६ लाख १६ हजार ८४२ मा सम्झौता गरी जयविष्णु सेवा प्रालिमार्फत पुल निर्माण गरिएको हो ।

जिल्ला प्राविधिक कार्यालयअन्तर्गत एसएनआरटिपी सडक कार्यक्रमअन्तर्गत विश्व बैंकको सहयोगमा २०७५ असोज २० गतेदेखि काम शुरु गरेको पुल जेठ मसान्तभित्रमा सम्पन्न गरी अहिले सञ्चालनमा आएको छ । तीन वटा बिमसहित १४ मिटरको गहिराइको आरसिसी प्रि स्पेस आई गडरको पाइल फाउण्डेशन डिजाइनको सो पुल स्याल्यापसहित ३९ मिटर लम्बाइ र गाडी गुड्ने भाग छ मिटर रहेको जयविष्णु निर्माण सेवाका इञ्जिनीयर व्यवस्थापकीय निर्देशक अनिल सिलवालले जानकारी दिए ।

“अहोरात्र दिनरात खटेर काम गरेकाले तोकिएको मितिभन्दा अगावै गुणस्तरीय तरिकाले निर्माण सम्पन्न गर्न सफल भयौँ”, उनले भने । दुवै भागतर्फ एक मिटर २० सेन्टिमिटर गरी दुई मिटर ४० सेन्टिमिटर पैदलयात्रीका लागि छोडिएको छ । छोटो समयमा निर्माण सम्पन्न भएकाले निर्माण व्यवसायीलाई दश हजारले पुरस्कृत गरिएको छ ।

तानसेन नगरपालिका र माथागढी गाउँपालिका जोड्ने महत्वपूर्ण सडक, तानसेन बाँसटारी झडेवा खैरेनी जोड्ने अन्तर जिल्ला सडक यो सडक तानसेन बुटवल सडकखण्डको वैकल्पिक सडकको नामले परिचित रहेको छ । तिनाउ खोलाले बर्खायाममा यहाँ पुल नहुँदा धेरै यात्रुको ज्यान लिएको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ००:००