५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट नगरपालिकाः ग्रामीण सडक स्तरोन्नति




बागलुङ । गलकोट नगरपालिका–७ मल्मदेखि पाण्डवखानी जोड्ने सडकको ८०० मिटर खण्ड स्तरोन्नति गरिएको छ । उक्त योजना गत आवको नगर गौरवको योजना हो । नगरपालिकाको ४० लाख र गण्डकी प्रदेश सरकारको २० लाख गरी कूल ६० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो ।

निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रबन्धक गोरख भण्डारीका अनुसार सात मिटर चौडासहित, नाली, पर्खाल निर्माण र ‘ग्रावेल’ को काम भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गसँग जोडिएको उक्त सडकको जिरोकिमी आँगाखेतदेखि ओदाहसम्म स्तरोन्नति गरिएको प्रबन्धक भण्डारीको भनाइ छ ।

सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने योजना रहेको वडाध्यक्ष टीकाबहादुर थापाले बताए । उक्त सडकलाई पाण्डवखानी–रणसिंहकिटेनी–बुर्तिबाङ हुँदै ढोरपाटनसम्म जोड्ने लक्ष्य छ । चालू आवमा पनि सडक विस्तार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले एक करोड बजेट छुट्याएको छ ।

नगरपालिकाले पनि यो वर्ष पाण्डवखानीको गैराभाटीदेखि रमुवासम्मको खण्डलाई ६० लाख बजेट विनियोजन गरेको छ । विकट र लोकमार्गसँग नजोडिएकाले पाण्डवखानी क्षेत्रको खण्ड नगरपालिकाको प्राथमिकतामा परेको हो । नगरपालिकाले गत आवमा ११ वटै वडामा नगर गौरवका योजना सञ्चालन गरेको थियो । अधिकांश योजना पूर्वाधार विकासमा केन्द्रित थिए ।

नगरको दिगो विकासका लागि गौरवका योजना सञ्चालन गरिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । समृद्ध गलकोटको लक्ष्य हासिल गर्न गौरवका योजनाले टेवा पुग्ने विश्वास लिइएको छ । गौरवका योजनामा सडक कालोपत्र, स्वास्थ्यचौकी, पर्यटकीय पूर्वाधार विकासलगायत थिए । रासस

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ००:००