१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरपालिकाः नीति कार्यक्रम तथा बजेट पारित




धनगढी । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ । आज बसेको नगरसभा बैठकले वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।

उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यही असार ८ गते नगरसभामा १ अर्ब ५८ करोड ४८ हजारको बजेटसहित नीति कार्यक्रम पेश गरेकी थिइन् । पेश भएको बजेटमध्ये चालूतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ र पूँजीगततर्फ ८१ करोड ६८ लाख पाँच हजार ८३३ रहेको छ ।

नगरमा कार्यान्वयन हुने तर रातो किताबमा समावेश गर्न नपर्ने अनुदानतर्फको ५७ करोड ४२ लाख यो बजेटमा समेटिएको छैन । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकाको नीति, कार्यक्रममा सुधारिएका सडक निर्माण र कृषिमा आधुनिकीकरण तथा व्यावसायिकीकरणलाई मुख्य प्राथमिकता दिइएको छ ।

शिक्षा र स्वस्थ्यको गुणस्तर सुधार्ने, सूचना प्रविधि तथा सञ्चार, उद्यम, सहकारीको विकास, पर्यटन प्रवर्द्धनमा प्राथमिकता, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन, प्राकृतिक विपद्को रोकथाम तथा पूर्वतयारी, राहत वितरण, पुनस्र्थापन, पुनर्निर्माणलाई पनि नीति कार्यक्रममा प्राथमिकता दिइएको छ ।

जैविक खेती र बगरखेतीमा प्रोत्साहन, एक घर दुई बिरुवा रोप्ने कार्यक्रमलाई निरन्तरता, नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवीको नाममा कृषि अनुसन्धान केन्द्र स्थापनालाई पनि प्राथमिकता दिइएको छ । पर्यटनको विकासका लागि धनगढीको कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्र्याक निर्माण गर्ने, पर्यटकीयस्थल जोड्न सडक सञ्जाल ९करिडोर० तयार पार्ने, भादागाउँ घरबास कार्यक्रमको प्रवर्द्धन गर्ने विषय पनि सो कार्यक्रममा समेटिएको छ ।

सामाजिक विकासतर्फ बालबालिका किशोर–किशोरीसँग ‘उपमेयर‘ कार्यक्रम, शिक्षातर्फ असहाय र विपन्नसँग ‘मेयर’ कार्यक्रम, विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम सञ्चालन गर्ने विषयमा नीति कार्यक्रममा प्राथमिकता दिइएको छ । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००