१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुशे गाउँपालिकाका सबै वडामा सडक सञ्जाल



जाजरकोट । कुशे गाउँपालिकाको सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । गाउँपालिकाले सडक निर्माण र विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको हो ।

सडक सञ्जाल जोडिएपछि यातायात सञ्चालनमा आउनुको साथै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र स्थानीयलाई आउजाउ गर्न सहज भएको हो । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा नौ वडामा १२ वटा सडकको ट्रयाक खोलिएको थियो । गत वर्षसम्म कुशेको वडा नं ५ को केन्द्र मात्र सडक सञ्जालसँग जोडिएको थियो ।

जाजरकोट–ब्युलीढुङ्गा–जुम्ला सडकमा पर्ने पाँचकटिया, दम्दाला, ढिमे, खुर्पालगायत गाउँमा मात्र सडक पहुँच रहेकामा यस वर्ष सबैलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । पहिलो वर्ष सडकको नयाँ ट्रयाक खुला गरेर सडक चौडा बनाउने, नालीलगायत काम गरेर १२ महीना सडक सञ्चालनमा आउने बस्नेतले बताए ।

जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण भएका छन् । कुशे गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा कृषिउपज, खनिज, जटीबुटीलगायतलाई बजारीकरण गर्न सडक निर्माणलाई महत्व दिएको हो ।

सडक निर्माण भएपछि बजारबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको स्थानीयले बताएका छन् । पहिले मान्छे हिँड्नलाई साँघुरो बाटो थियो, सामान ओसारपसार गर्न अफ्ठेरो हुन्थ्यो, अहिले गाउँपालिकाले सडक निर्माण गरेपछि धेरै सहज भएको स्थानीय दलबहादुर थापाले बताए ।

विकट गाउँमा सडक पुगेपछि यहाँका स्थानीयवासीको वर्षौंको थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने पीडा हटेको छ । “पहिले नून लिनलाई एक महीना हिँडेर नेपालगञ्ज जानुपर्थ्यो, अहिले घरैमा नून आयो”, कुशे–४ ताँगाचौरको रङ्गबहादुर कामीले भने । कुशे सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्ररकारका जडीबुटीले गाउँपालिका धनी छ ।

सडक निर्माणसँगै दुर्गम क्षेत्रको कृषि उत्पादनले बजार पाउनुको साथै स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तु ओसारपसारमा सहज भएको छ । दुर्गम र विकट गाउँपालिकाको रुपमा रहेको कुशेका विकट र ग्रामीण बस्तीमा सडक पहुँच पुगेपछि सर्वसाधारण कृषि उत्पादन र व्यवसायतर्फ उन्मुख देखिएका छन् ।

कुशे गाउँपालिकाले सडक विस्तारमा १० करोड बढी रकम खर्च गरेको जनाएको छ । स्थानीय खोलामा सडक पुल निर्माणको लागि सङ्घीय तथा प्रदेश सरकारसँग बजेट माग गरेको गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ००:००