१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाभारत गाउँपालिकाको सडक बर्खायाम शुरु भएसँगै अवरुद्ध




असार २६, बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको सडक बर्खायाम शुरु भएसँगै अवरुद्ध भएको छ ।

जिल्ला सदरमुकाममा आवतजावत गर्नका लागि छिमेकी जिल्ला सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाको रामपुरखोला हुँदै जानुपर्नेमा बर्खा लागेसँगै रामपुर खोला बढेर तर्न नसकिने, कच्ची सडकको ठाउँठाउँमा पहिरो जाने, भत्कने र हिलोका साथै खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भएपछि त्यहाँका बासिन्दाले कठिनाइ व्यहोर्नु परेको हो ।

सो गाउँपालिकाको केन्द्र वनखुचौर जोड्नका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको भीमखोरी जुकेपानी भएर सिन्धुलीको रामपुरखोला हुँदै जाने गरेको छ तर बर्खा लागेसँगै बाटो अवरुद्ध भएपछि त्यहाँका बासिन्दालाई गाउँपालिकाको केन्द्र जानसमेत कठिनाइ भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम आउन एक दुई दिनको बाटो हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बर्खा लागेसँगै सडकखण्ड अवरुद्ध भएपछि स्थानीय बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म जानलाई एक दिन लाग्ने गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । “गाउँपालिका केन्द्र जोड्ने एक मात्रै सडक भनेको जुकेपानी–घ्याङ्लेक–रामपुर–बनखु सडक हो, त्यो पनि बर्खा लागेसँगै खोला बढ्ने र ठाउँठाउँमा कान्ला भत्कने, हिला–चिप्ले र खाल्डाखुल्डी भएपछि अहिले बाटो अबरुद्ध भएको छ”, उनले भने, “सो सडक लगायत बनखु, घर्तीछाप, गोकुले, फोक्सिङटार र बुढाखानी लगायत सडकखण्डका पनि ठाउँठाउँमा सडक भत्कने र हिलो चिप्लो भएसँगै सेवाग्राहीलाई गाउँपालिकाको कार्यालय पुग्न एक दिन लाग्ने गरेको छ ।”

सङ्घीय सरकारले दुई वर्षभित्रमा गाउँपालिका केन्द्रसम्म जोड्ने सडकखण्ड कालोपत्र गर्ने भनेर नीति, योजना तथा कार्यक्रममा उल्लेख गरे पनि बजेटको व्यवस्था नगर्दा दुर्गम क्षेत्रका गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था अझै विद्यमान रहेको उनको भनाइ थियो । “केन्द्र सरकारले नीति, कार्यक्रम तथा योजनामा समेट्ने तर बजेट व्यवस्था नगर्दा विकटका जनता समस्यमा छन्”, उनले भने, “महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडकखण्डको ट्र्याक खोल्न केन्द्र सरकारले अझैसम्म पनि बजेटको पर्याप्त व्यवस्था गरेको छैन ।”

यसअघि पालिका र केन्द्र सरकारले व्यवस्था गरेको बजेटबाट निर्माणाधीन सडकखण्ड बर्खायामका कारण कान्ला भत्कने, ठाउँठाउँमा पहिरो जाने र हिलो भएका कारण यातायातको साधन चल्न नसकेको स्थानीय बासिन्दाले बताए । यसअघि केन्द्र सरकारको सहयोगमा निर्माण भएको कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी सडकखण्डको सर्तुङ लगायत ठाउँमा सानासाना पहिरो जाने र हिलोका कारण बाटो अवरुद्ध भएपछि अहिले गाउँपालिकाको सहयोगमा निर्माण भएको महादेवटार–आग्रेटार–मसाने भञ्जयाङ–सानोपोखरा सडकखण्डसमेत चल्न नसकेको स्थानीय चमारसिं मोक्तानले बताए । “आज चार÷पाँच दिन भयो, बुढाखानीको चौकीडाँडामा पहिरो गएपछि आहालडाँडासम्म आएको यात्रुबाहक बससमेत बनेपा फर्कन सकेको छैन ।” उनले भने, “बनेपाबाट आएको गाडी सिपालीसम्म मात्रै आएर फर्कने गरेको छ, अब डाँडापारिका बासिन्दा जिल्ला सदरमुकाम आवतजावत गर्नका लागि दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता छ ।”

उता सिन्धुलीको रामपुर हुँदै बनखु जानुपर्ने सडकखण्ड पनि अवरोध भएपछि अब त्यहाँका बासिन्दा हिँडेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता भएको स्थानीय बासिन्दाले बताए । सो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रविन मोक्तानले बर्खा लागेसँगै मङ्गलटार–डाँडाखर्क–चारकिल्ला सडकखण्डसमेत अवरुद्ध भएको र सहज ढङ्गले गाडी आवतजावत गर्न कठिन भएका कारण गाउँपालिकाको कार्यालयसम्म जानका लागि एक डेढ दिनसम्म हिँड्न बाध्य हुनुपरेको बताए । रासस

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार ००:००