असार २६, अमरगढी । डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान शुरु हुने भएको छ । डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बर्द्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान अगाडि बढाइने भएको हो ।
परशुराम नगरपालिका क्षेत्रभित्र पर्ने रङ्गुन खोला तथा जलाधार क्षेत्रमा सङ्काटापन्न जातको माछापालनलाई समुदायको जीविकोपार्जनसँगै जोड्दै संरक्षणको अभियान चलाइन लागेको नगरपालिकाले जनाएको छ । जथाभावी माछा मार्ने परम्परागत प्रचलनलाई रोक्दै नगरपालिकाले व्यवस्थित गर्न लागेकोमा स्थानीयवासीले पनि सकारात्मक रूपमा लिएका छन् ।
माछाको संरक्षण सुनिश्चित गर्न नदी क्षेत्रका जनतालाई विषादी प्रयोग नगर्न र लोप भइरहेका माछालाई संरक्षण गर्न जनचेतनामूलक कार्यक्रम गरेपछि जोखिममा रहेका ५२ प्रजातिका माछा संरक्षण हुने बताइएको छ । रङ्गुन खोला तथा जलाधार क्षेत्रका आम नागरिकको सुविधा र जीविकोपार्जन कार्यक्रमका लागि जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७५ को दफा ४२ बमोजिम आवश्यक निर्देशिकामा व्यवस्था जारी गरिने नगरपालिकाले जनाएको छ । रासस
प्रतिक्रिया