१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकामा ‘मुहान संरक्षण अभियान’




असार १४, अछाम । जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोग लगायत कारणले पानीका मुहान सुक्दै गएपछि साँफेबगर नगरपालिकाले ‘मुहान संरक्षण अभियान’ थालेको छ ।

सुख्खायाममा मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि नगरपालिकाले पोखरी निर्माण गर्न थालेको छ । साँफेबगर १३ बाब्लामा पाँच लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको छ । यस्तै पुरिँदै गएको शुभदहको पनि पुनःनिर्माण गरिएको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । दुई दशक अघिसम्म भरिभराउ रहने शुभदह अहिले रित्तो छ । त्यस वरिपरि पानीको मुहान मुहान सुक्दै गएका छन् ।

बाब्ला पर्यटन तथा धार्मिक पूर्वाधार समितिका अध्यक्ष रुपबहादुर कुँवरले शुभदहको संरक्षणका लागि नगरपालिकाले सहयोग गरेपछि तालको पूरै माटो निकालिएको बताए । “अब वर्खामा पानी जम्मा गरेर ताल पुरानै अवस्थामा ल्याउँछौँ”, उनले भने । वर्खाको पानी पोखरीमा जम्मा गर्न ‘रिचार्ज पोखरी’ निर्माण गरिएको साँफेबगर १३ बाब्लाका अध्यक्ष सागरसिंह बाब्लीले बताए ।

यस्तै चालू आवमा साँफेबगर नगरपालिका ८ चण्डिकास्थित बयालपाटामा पुरिएको अवस्थामा रहेको दयाखालको पनि संरक्षण गरिने नगर प्रमुख कुँवरले बताए । सङ्घीय सरकारबाट समेत साँफेबगर १३ बाब्लामा रिचार्ज पोखरी निर्माण तथा जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रमका लागि ७२ लाख बजेट उपलब्ध भएको कुँवरको भनाइ छ । रिचार्ज पोखरी निर्माण तथा पुरिएका पोखरी निर्माणका लागि आगामी आवमा २० लाख विनियोजित गरिएको छ ।

“नगरपालिकाको अन्य स्रोतबाट र प्रदेश सरकारबाट प्राप्त हुने थप करीब ३० लाख रिचार्ज पोखरी निर्माण गर्न खर्च गरिने छ,” नगर प्रमुख कुँवरले भने । चौधवटै वडामा पुराना पोखरी निर्माणसँगै आवश्यकताका आधारमा रिचार्ज पोखरी निर्माण गरिने उनले बताए । खोला र नदीको दूषित पानी पिउने बाध्यता हटाउन रिचार्ज पोखरी निर्माण गर्न थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ००:००