३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुराँस गाउँपालिकाको गाउँसभामा राउटे सहभागी




असार ११, दुल्लु । गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेर गाउँपालिकाको नागरिक बनाएको लोपोउन्मुख राउटे समुदायका मुखिया र युवाहरु पहिलोपटक गाउँसभामा सहभागी भएका छन् ।

राउटे समुदायका मुखिया र युवा गाउँपालिकाको पाचौँ गाउँसभामा सहभागी हुन रानीमत्ता आएका थिए । राउटे समुदायलाई पनि बजेटमा अपनत्व कायम गराउन सभामा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

सभामा बोल्दै राउटे मुखिया सूर्यनारायण शाहीले आफ्ना जनताका लागि पनि बजेट विनियोजन गराउन माग गरे । “राउटे परिवर्तनको बाटोमा हिँडेको छ, विस्तारै परिवर्तन हुन्छ”, मुखिया शाहीले भने, “पूर्खादेखि गर्दै मान्दै आएको परम्परा हामी एकैचोटी छोड्न सक्दैनौ, सबै परिवर्तन विस्तारै हुन्छ ।”

अर्का महामुखिया महिनबहादुर शाहीले राउटे समुदाय फिरन्ते भएको हुँदा दैलेखका विभिन्न ठाउँमा घुमे पनि अब दैलेख बाहेक अन्य जिल्लामा नजाने बताए । अध्यक्ष ओलीले राउटे समुदायको कला संस्कृतिलाई जगेर्ना गर्दै उनीहरुको संस्कृति जोगिने खालको बजेट व्यवस्था गरिने बताए । उनले राउटे समुदायको संरक्षणका लागि आफूले धेरै प्रयास थालेको जानकारी दिए ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले उक्त गाउँपालिकाले राउटे समुदायलाई गरेको कार्य प्रसंशायोग्य रहेको बताए । धेरै व्यक्तिले राउटेका पछाडी लाग्नु गलत भने पनि यसको दिगो फाइदा समग्र प्रदेशलाई हुने उनको धारणा छ । उनले राउटे समुदायको संस्कृति, परम्परा र वेषभूषा जोगाउनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ११ असार २०७६, बुधबार ००:००