२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्थी र साउगन्ना गाउँमा एक घर एक धारा निर्माण




नरेन्द्रसिंह कार्की

असार ८, दार्चुला । अपि हिमाल गाउँपालिका–५ का लुम्थी र साउगन्ना गाउँमा एक घर एक खानेपानीका धारा निर्माण गरिएको छ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका उक्त गाउँका स्थानीयवासीका लागि घरघरमा खानेपानीका धारा निर्माण गरिएको हो ।

दुवै गाउँमा गरी एक सय पाँच घरमा खानेपानीका धारा तथा भाँडा सुकाउने चाङ निर्माण गरिएका छन् । लुम्थीपन्यार खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयभानसिंह धामीका अनुसार हरेक घरअगाडि खानेपानीका धारामा भाँडा सफा गरेपछि त्यही चाङमा सुकाउने व्यवस्था गरिएको छ ।

उनले भने, “बस्ती पूरै सफाइ हुँदै गएको छ, हरेक घरमा खानेपानीका धारा बनाइएपछि धारा तथा सरसफाइमा ध्यान दिइएको छ, साउगन्नामा बस्तीको नाम नै परिवर्तन गरी फूलबारी टोल कायम गरिएको छ, हिँड्न बाटो वरिपरि फूल रोपिएका छन् र धाराबाट गएको पानी तरकारीबारीमा लगाइएको छ ।”

पानीको बहुउपयोग गरिएको उनले बताए । विगतमा आधा घण्टा लगाएर टाढाको पानी बोक्न जानुपर्ने बाध्यता हटेको स्थानीयवासी निर्मला ठगुन्नाले बताइन् । “अहिले आफ्नै घरआँगनमा व्यक्तिगत रुपमा धारा बनेपछि सबै खुशी छौँ, कहिल्यै यस्तो धारा गाउँमा आउँला सोचेका थएिनौँ”, उनले भनिन् ।

लुम्थी बस्तीमा ४८ व्यक्तिगत र दुईवटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । लुम्थीमा खानेपानीका धारा निर्माणका लागि जलस्रोत विकास कोषबाट २१ लाख ५४ हजार, नेपाल सरकारबाट ७ लाख ७४ हजार, फिनल्याण्ड सरकारबाट ८ लाख ५ हजार र अपि हिमाल गाउँपालिकाको पाँच लाख ७४ हजार लागतमा खानेपानी योजना बनेको बताइएको छ । उक्त योजनामा जनश्रमदानबापत सात लाख १८ हजार खर्च लागेको छ ।

यस्तै सौगन्नामा तिम्ला चौलानी खानेपानी योजनाअन्तर्गत ५३ व्यक्तिगत र दुई वटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । त्यसमा नेपाल सरकारको १३ लाख १४ हजार, फिनल्याण्ड सरकारको १३ लाख ६८ हजार, गाउँपालिकाको नौ लाख ७५ हजार र जनश्रमदानबाट १२ लाख १९ हजार लागतमा योजना निर्माण सम्पन्न गरिएको छ ।

विगतमा मकै, गहुँ मात्रै लगाउने किसानले तरकारी, फलफूल जस्ता नगदेबाली लगाउन थालेका छन् । जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले हरेक काममा महिलालाई समस्या हुने गरेको अहिलेको अवस्थामा अपि हिमालका बासिन्दाका लागि खुशी दिन शुरु गरिएको बताए । विकट बस्तीमा पुगेर शहरको भन्दा राम्रा धारा बनेको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले चुनावको बेला जनतासँग गरेका वाचा पूरा हुँदै गएको बताए । “स्थानीय चुनाव आउँदा यहाँ खानेपानीको निकै समस्या थियो, खानेपानीकै समस्या देखेर ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आएपछि पहिलो प्राथमिकतामा लुम्थी र साउगन्ना गाउँमा नमूनाका रुपमा खानेपानी योजना सञ्चालन गरेका हौँ”, उनले भने ।

सहयोगी संस्था समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले छोटो समयमै वडा नं ५ का दुई गाउँका घर–घरमा खानेपानी पुगेकामा खुशी व्यक्त गरे । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले स्थानीय सरकारको प्राथमिकताअनुसार खानेपानी पहिलो चरणमा निर्माण गरिएको बताए । निकट भविष्यमै वडा नं ३ र ४ का बस्ती समेट्ने गरी बृहत् कुरुमल खानेपानी योजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ८ असार २०७६, आइतबार ००:००