१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक सरुवासम्बन्धी गाउँपालिकाको निर्णय सदर




असार ५, सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो ।

यसअघि न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी जेठ २४ गते सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । गाउँपालिकाले वैशाख २५ गते गाउँ शिक्षा ऐन, २०७४ को दफा २४ अनुसार ६७ शिक्षकलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा पदस्थापन एवं सरुवा गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरुद्धमा सरुवामा परेका शिक्षक डिल्लीबहादुर खुलाल बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटउपर जेठ २४ गते असार ३ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको निर्णयपछि गाउँपालिका अध्यक्ष असिम राईले न्यायालयको निर्णयले गाउँपालिकाले घोषणा गरेको ‘शैक्षिक सुधार वर्ष’लाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले लामो समयदेखि शिक्षामा देखिएको समस्या समधानका लागि गाउँपालिकाले नियमपूर्वक गरेको शिक्षक सरुवाको विरुद्ध अदालतमा जानुले पनि शिक्षकको हविगत देखिएको बताए । कसैलाई पनि नटेर्ने र आफूले चाहेकै स्थानमा बस्नुपर्ने केही शिक्षकका कारण इमानदार शिक्षकलाई समेत समस्या भएकाले शैक्षिक गुणस्तर वृद्धि नभएको उनको टिप्पणी छ । रासस

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००